Sanjay_sah_janakpur
हुलाकी न्यूज, जनकपुरधाम ९ बैशाख । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारका निर्वाचित संसद संजय साहको स्वास्थ्य अवस्था विग्रिदै गएपछि उनलाई काठमाडौं फिर्ता पठाइएको छ ।

सञ्चार उद्यमी अरुण सिंघानीया हत्या मुद्दाको अनुसन्धान गर्न काठमाडौंबाट तीन साता अगाडि जनकपुर ल्याइएका नेता साहलाई अदालतमा बयान नहुँदै बिहीबार साँझ काठमाडौं फर्काइएको छ ।

गत चैत २३ गते जनकपुर ल्याइएका उनले आफूलाई जबरजस्ती फसाउन लागिएको भन्दै न्यायिक छानबीन समिति गठनलगायत माग गरेर थुनाभित्रै आमरण अनसन बसेका थिए ।

अनसन बसेको १६ औं दिन बुधबार बयानको लागि जिल्ला अदालत लगिएका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै उपचारको माग गरेपछि न्यायधिश राजेन्द्रकुमार आचार्यले तत्काल उपचार व्यवस्था मिलाउन आदेश गरेका थिए ।

बुधबारै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएका साहको शरीरमा डिहाइड्रेशन भएर खतरा बढेको भन्दै स्तरीय अस्पतालमा उपचार व्यवस्था मिलाउनुपर्ने सुझाव अञ्चल अस्पतालले दिएको छ ।

सोही आधारमा आदेश सुनाउँदै अदालतले पुर्व आदेशानुसार पहिलेदेखि काठमाडौंको डिल्लिबजार कारागारमा रहेको देखिएकाले सोही ठाउँमा पुनः लगेर उपचारको व्यवस्था मिलाउन भनेको छ ।

१५ दिनको अन्तरालमा उनको स्वास्थ्य प्रगति वारे अदालतलाई जानकारी गराउने र बयान दिन स्वास्थय अनुकुल भएपछि बयान तथा थुनछेक सम्बन्धी बहसका लागि पुनः अदालतमा हाजिर गराउन भनिएको श्रेस्तेदार नन्दकिशोर यादवले स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

सिंघानीया हत्या मुद्दामा अदालतमा पेश गरिएका साहबाहेक पाँच जनाले मंगलबारैसम्म बयान दिइसकेका छन् । साहको बयान पूरा भएपछि थुनछेकको लागि बहस हुने जनाइएको छ ।

अहिलेसम्म ओमप्रकाश यादव, मुकेश चौधरी, चनरदीप यादव, योगेन्द्र सहनी, रामकरण यादवले बयान गरेका हुन् । उनीहरु मध्ये अधिकांशले प्रहरीको बयानमा सांसद साहकै आदेशले सिंघानीया हत्या गरिएको भनेको देखिए पनि अदालतमा भने आफूहरु निर्दोष रहेको दावी गर्नुको साथै साहको कुनै आदेश र सिंघानीया हत्यासँग साँठगाँठ नरहेको बयान दिएका छन् ।

प्रहरीले लिखित बयानमा यातना र धाकधम्की दिएर जबरजस्ती सही गर्न लगाएको उनीहरुले अदालतमा दिएको बयान कागजमा उल्लेख छ । आगोले पोलेदेखि करेन्टको तार भिराएरसमेत आफूहरुलाई थुनाभित्र प्रहरीले यातना दिएको उनीहरुले अदालतको बयानमा भनेको नागरिक दैनिकको अनलाईनले जनाएको छ ।

1 COMMENT

  1. यसरी जबरजस्ती यतना दिई कन फसाउन खोजे को भन्ने कुरा पुष्टि भै सक्दा पनि अदालत ले किन हो साह लाई अझै न्याइ नदिएको यसरी बुझदा त पक्कै मधेस कमजोर पार्न नै भएको हुनु पर्छ निकम्मा सरकार या केही राजनीति दल का नेता हरु को काम हो भन्ने प्रस्ट देखिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.