
हुलाकी न्यूज, बीरगञ्ज ८ बैशाख । आजबाट आन्दोलन सुरु भएको भन्दै आन्दोलनको शंखनाद बीरगञ्जबाट गरिएको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई–मधेश युवा फ्रन्टले बीरगञ्जको घण्टाघरबाट बुधबार आन्दोलनको शंखनाद गरेको छ ।
विर्ता चौकबाट मोटरसाईकल रैली गर्दै घण्टाघर पुगेको युवा फ्रण्टले शंखनाद गर्दै आन्दोलनको उद्घोष गरेको छ ।
फ्रन्टका केन्द्रीय अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य कृष्णा सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै आजबाट मधेशी युवाहरुले आन्दोलन सुरु गरेको बताए ।
सिंहले भने,‘आजबाट मधेशी युवाहरुको आन्दोलन सुरु भएको छ । हाम्रो आन्दोलनको कार्यक्रम मधेशका २२ वटै जिल्लाबाट थालिएको छ । पहिलो चरणमा हामी युवाहरुको कार्यक्रम १० दिनसम्म चल्नेछ ।’
सिंहका अनुसार आजै बीरगञ्जको अलखिया मठमा युवाहरुलाई आन्दोलनका लागि प्रशिक्षणा पनि दिइएको छ भने समिति पनि निर्माण गरिएको छ ।
उनले यसैबीचमा अन्य युवा संगठनहरुसँग आन्दोलनका लागि सहकार्य भइरहेको बताएका छन् ।




