
हुलाकी न्यूज, जनकपुरधाम ७ बैशाख । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहको समर्थनमा मंगलबार जनकपुरधाम स्वस्फूर्तरुपमा पूर्ण रुपले बन्द भएको छ ।
नेता साहमाथि न्यायिक छानविन हुने पर्ने माग गर्दै स्थानीयवासी तथा मधेशवादी पार्टीहरुले जनकपुर स्वस्फुर्त रुपमा बन्द गरेका छन् ।
विगत १५ दिनदेखि आफूमाथि न्यायिक छानविन हुनु पर्ने माग राख्दै प्रहरी हिरासत मै नेता साह आमरण अनसनमा बसेका छन् । नेता साहको समर्थनमा उनकी श्रीमति रंगिला साह र एक सहयोगी विगत ६ दिनदेखि आमरण अनसनमा बसेका छन् ।
नेता साहमाथि लगाइएका आरोपहरुमा न्यायिक छानविन हुनु पर्ने तथा आधुनिक प्रविधि प्रयोग गरी अनुसन्धान हुनु पर्ने माग उनीहरुले गर्दै आएका छन् ।
सोमबार साँझ साहको समर्थनमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन भएको थियो । मंगलबार विहानैदेखि स्थानीय व्यापारी तथा सवारी चालकहरुले स्वस्फूर्त रुपमा जनकपुर बन्द गराएका थिए ।
शान्तिपूर्ण बन्द सफल भएको सदभावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिंहले हुलाकी न्यूजलाई जानकारी गराए ।
सिंहले भने,‘स्थानीयवासीहरुले स्वस्फूर्त रुपमा निर्वाचित सांसद साहको समर्थनमा जनकपुरधाम बन्द गरे । कही कतै कुनै क्षति भएन ।
कही कतै जोरजवरजस्ती भएन । आजको बन्द पूर्ण रुपमा सफल भएकोले नेता साहमाथि न्यायिक छानविन हुनु पर्ने मागमा सर्वसाधारणको समर्थन छ । कुनै व्यक्तिको दबाबमा सरकारी संयन्त्रको दुरुपयोग हुनु हुँदैन ।’
प्रहरी हिरासतमा विगत १५ दिनदेखि आमरण अनसनमा रहेका नेता साह र जनकपुरको जनक चौकमा आमरण अनसनमा बसेकी उनकी श्रीमतिको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।
फाईल फोटो



