
हुलाकी न्यूज, जनकपुरधाम ६ बैशाख । विगत १४ दिनदेखि प्रहरी हिरासतमा आमरण अनसनमा रहेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहको समर्थनमा भोलि(मंगलबार) जनकपुरधाम बन्द हुने भएको छ ।
सदभावना पार्टीसहित मधेशवादी दल तथा युवा संगठनहरुको आह्वानमा मंगलबार जनकपुरधाम बन्दको घोषणा गरिएको छ ।
यता सदभावना पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘नेता साहमाथि लगाइएको झुठा मुद्दाको विरुद्धमा र उहाँको जीवन रक्षाको लागि बन्द आव्हान गरिएको छ । मंगलबारको बन्दी सफल गरिदिनुहुन सम्पूर्ण ब्यापारी, यातायात व्यावसाय तथा सम्पूर्ण जनकपुरबासीमा हार्दिक अपिल छ ।
त्यस्तै मंगलबार विहान साढे आठ बजे जनक चौकबाट निस्किने मोटरसाईकल रैलीमा सहभागी हुन युवाहरुलाई आह्वान गरिएको छ ।
यता बन्दको पूर्वसनध्यामा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
आमरण अनसमा रहेका नेता साहको स्वास्थ्य अवस्था विग्रिदै गएको छ भने उनको समर्थनमा आमरण अनसनमा बसेकी उनकी श्रीमति रंगिला साहको स्वास्थ्य अवस्था पनि नाजुक रहेको नेता साहका भाई डा.रामकुमार साहले हुलाकी न्यूजलाई बताए ।




