अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ६ बैशाख । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरस्थित सिताराम खानेपानी प्रशोधन उद्योगले उत्पादन गरेको अक्वा सिताराम मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ ।
महेन्द्रनगरस्थित सखुवा चोकमा रहेको पानी उद्योग धनुषाको विभिन्न सहरहरुमा पानी आपूर्ति गर्दै आइरहेको छ । उद्योगबाट उत्पादित सिलबन्दी बोतलभित्र शनिवार एक उपभोक्ताले किरा भेटे पछि निकै हल्लाखल्ला भएको थियो ।
दैनिक हजारभन्दा बढी बोतल तथा जारहरू उत्पादन हुँदै आएको उक्त मिनिरल वाटरको बोतलमा यसअघि पनि किरा भेटिएपछि कम्पनी केहि दिनको लागि बन्द गराइएको थियो ।
यसरी पटकपटक उक्त प्रशोधित पानीमा किरा भेटिने गरेपछि उपभोक्ताको ज्यानसंग खेलवाड गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनु पर्ने स्थानीय विक्रेता (पसले) नागेन्द्र साहले बताए ।
सम्बन्धीत निकायको बजार अनुगमन तथा गुणस्तरको चेकजाँचको अभावको कारण यस्ता उद्योगहरुले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दै गरेको हुँदा सम्बन्धीत निकायले यसमा चासो देखाउनु पर्ने आवश्यक्ता रहेको स्थानीय स्वास्थ्यकर्मी कृष्ण कुमार यादवले बताए ।
यता पानी उद्योगका संचालक बैजनाथ साह ‘सीताराम’ ले ‘आफ्नो पानी प्रशोधन गरेर अटोमेटिक पानी बोतलमा भर्ने मेसिन नभएको हुँदा मजदुरहरुले नै हातले बोतलमा पानी भर्ने गरेको हुँदा हावाहुरीको समय भएकोले किरा पसेको हुन सक्ने स्वीकार गरे ।’
यस सन्दर्भमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरीले उपभोक्ताको स्वास्थ् संग खेलवाड गर्ने उद्योगलाई कार्वाही प्रकृया अघि बढाउने बताए । प्रनि ठकुरीले किरा भेटिएको बोतल कार्यालयको नियन्त्रणमा राखी कार्वाहीको लागि बोतलसहित सम्बन्धीत निकायमा पठाउने तयारी गरेको बताए ।



