
हुलाकी न्यूज, काठमाडौं ६ बैशाख । मधेश आन्दोलनबाट अधिकतम प्रभावित क्षेत्र भारदह र वरपरका अल्पाधिकार प्राप्त क्षेत्रका महिलाहरुलाई स्वाबलम्बी बनाउन तालिम दिइएको छ ।
मुख्य रुपमा शहिद परिवारका एकल महिला र अन्य सदस्यलाई नयाँ सीप सिकाएर स्वाबलम्बी बनाई तिनको आर्थिक र सामाजिक सशक्तिकरण गर्ने उद्देश्यले कोशिश संस्थाले तालिम दिएको छ ।
त्यस क्षेत्रमा गत चैत्र २० बाट थालेको १५ दिने मिथिला हस्तकला व्यवसायिक तालिम कोशिशले सम्पन्न गरेको छ । प्रभावित क्षेत्रका परिवारको आर्थिक अवस्था र सामाजिक स्थिति सुधार्नका साथै मिथिलाको परंपरागत कला र शिल्पको प्रवर्द्धन गरी स्थानीय संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न आयोजित उक्त तालिमको प्रशिक्षक ठमेलस्थित मिथिला यें आर्ट ग्यालरी रहेको थियो ।
कुल लागत ९० हजार रहेको सो तालिममा कोशिशले आफ्नै लगानी र जन निधिकरण मञ्च मार्फत रकम संकलन गरी कोशिशले तालिम गराएको हो ।
कोशिशले प्राथमिक चरणमा स्थानीय २१ जनालाई प्रशिक्षित गरेको छ । प्रशिक्षुहरुलाई स्वरोजगार दिने उद्देश्यले तालिम पश्चात निर्मित सम्पूर्ण हस्तकृति प्रशिक्षक मिथिला यें आर्ट ग्यालेरीले नै खरिद गर्ने जनाएको छ ।
यसरी प्रशिक्षित व्यक्तिहरुले नयाँ क्षेत्रका अन्य व्यक्तिहरुलाई पनि प्रशिक्षित गरी अझै धेरै तालिमप्राप्त जनसंख्या तयार गर्नेछन् भन्ने आशा कोशिशले व्यक्त गरेको छ ।
तालिमपूर्व बेरोजगार, प्रेरणाहीन, निराश र सामाजिक हकअधिकारबाट वञ्चित व्यक्तिहरु तालिम पश्चात् नयाँ सीप, रोजगार अथवा स्वरोजगार, सम्मान अनि सामाजिक प्रतिष्ठाका धनी हुनेमा प्रेस विज्ञप्तिमार्फत कोशिशले विश्वास व्यक्त गरेको छ ।
मधेश आन्दोलन ताका घाइते आन्दोलनकारी, प्रहरी र सर्वसाधारणको निःशुल्क औषधोपचारमा विशेष सक्रिय रहेको ‘कोशिश’ ले यसअघि सप्तरीको मुसहर बस्तीमा न्यानो कपडा बाड्नेदेखि सुनसरीको बाढीपीडित गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सिन्धुली, सुनसरी र कपिलवस्तु जिल्लाका अग्निपीडितलाई राहत वितरण गर्ने जस्ता काम गरिसकेको छ ।





