हुलाकी न्यूज, काठमाडौं २७ भदौ । आइतबार विहान एमाओवादीका मधेशी र थारु सभासद्हरु प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमलाई छुटाछुटै भेटे । दुई भेटमा ती सभासद्हरुको अनुभव फरक फरक रहयो ।
सभासद्हरुले सेना फिर्ता गर्नु पर्ने, कर्फयू हटाउनु पर्ने, धरपकर रोकिनु पर्ने र लास उठाउने वातावरण बनाउनु पर्नेलगायतका विषयमा छलफल गरे ।
विहान आठ बजे माथिका विषयहरु प्रधानमन्त्रीलाई सुनाउँदा प्रधानमन्त्री सकारात्मक देखिएको एमाओवादी नेता प्रभु साहले हुलाकी न्यूजलाई बताए ।
तर यही कुरामा गृहमन्त्री बामदेव गौतम आक्रमक भएर प्रस्तुत भए ।
नेता साह भन्छन्,‘हामीले मधेशी–थारुको कुरा राख्दा प्रधानमन्त्री पोजेटीभ देखिनु भयो । उहाँले आवश्वासनसमेत दिनु भयो । तर गृहमन्त्री निगेटीभ देखिए । उनले यस्ता कुरा सुन्नै नचाहेको जस्तो गरे ।’
भेटघाटमा एमाओवादी सभासद्हरु प्रभु साह, नीशा साह, गिरीराज मणि पोखरेललगायत एक दर्जनभन्दा बढी मधेशी तथा थारु सभासद्हरु सहभागी थिए ।




