
हुलाकी न्यूज, काठमाडौं १ बैशाख । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी ओलीले गरेको सम्बोधन बकवास मात्रै रहेको टिप्पणी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेका छन् ।
महतोले भने,‘ओलीको सम्बोधन बकवास छ, यो औचित्यहिन छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’
काठमाडौंमा रिपोर्टस् क्लवले आयोजना गरेको कार्यक्रममा महतोले ओलीले वार्ताको लागि आह्वान गरेर आन्दोलन तुहाउने नाटक मञ्चन गरेको दाबी गरे । उनले भने,‘हामीले वार्ताको लागि आन्दोलन स्थगित गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, त्यसैले उहाँहरु मुलुकलाई निकास दिने पक्षमा हुनुहुन्न, त्यसैले अब वार्ताको कुनै सम्भावना छैन ।’
नयाँ वर्षको सम्बोधनमा आफूहरुले प्रधानमन्त्री ओलीको राजिनामाको उपहार खोजेको बताउँदै सम्बोधनको नाममा सरकारले जनतालाई उपहास गरेको उनले बताए । मधेशीको माग नै नबुझेको भन्ने प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा जानु भनेको ओलीको अनुहार हेर्न जाने काम मात्रै हुने उनले बताए ।
यद्धपी अध्यक्ष महतोले आन्दोलन आफूहरुको कुनै चाहना नभएको स्पष्ट पारे । उनले थपे,‘आन्दोलन हाम्रो बाध्यता हो, दुई महिनासम्म पनि आन्दोलन स्थगित गर्दा वार्ता गरिएन, अल्टिमेटम दिएको अन्तिम दिनमा आएर सरकारले हामीलाई वार्तामा बोलाउनु भनेको जनतालाई झुक्याउने काम हो, यो वार्ताको नौटंकीमात्रै हो ।’
उनले बैशाख ६ गते पहिचान पक्षधरहरु मधेशी, जनजाती, आदिवासीलगायत सबै शक्तिहरुसँगको छलफलपछि बृहत्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।



