
बृजराज कुशवाहा, परासी १ बैशाख । नवलपरासीको दक्षिणी सीमावर्ती गाविस गूठी परसौनीमा दोस्रो पटक आगलागी भएको छ । मंगलबार विहान वडा नम्बर ३ कठहवामा आगलागी भएको छ भने केही दिनअघि पाच नम्बर वडामा आगलागी भएको थियो ।
कठहवा गाउंमा भएको आगलागीमा करीब ५ लाखको धनमाल नष्ट भएको नवलपरासी प्रहरीले जनाएको छ ।
मंगलबार विहान करीब ८ बजे भएको सो आगलागीमा २ वटा टेक्टर, १ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने ल्यापटप, साइकल, खाद्यान्न र लत्ताकपडा सहित ३ वटा घरगोठ जलेर नष्ट भएको छ ।
स्थानीय गोबरी मियाको चुल्होबाट सल्केको आगोले छिमेकी आशिक अली, मुमताज अली, निजामुद्दिन अली, सराजुद्दिन अली र मोमताज अली समेतको घरमा आगो सल्केको थियो ।
आगलागीले लु१त २५६० र लु१त १६०२ नं. को २ वटा टेक्टर तथा यूपी ५६ बी ३५२७ नं. को भारतीय मोटरसाइकल गरी रु ४ लाख ८० हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलाटारीले पुष्टि गरेको हो ।
आगो निभाउनका लागि दमकल समयमा आउन नसकेको अवस्थामा स्थानीय र सीमा सुरक्षा बल गूठी परसौनीका सशस्त्र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।



