
हुलाकी न्यूज, काठमाडौं २८ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले मधेशमा ‘नमस्कार होइन, जय मधेश’ भन्ने चलन बढेको बताएका छन् ।
तेस्रो मधेश आन्दोलनमा मधेशीहरुको चेतना झनै बृद्धि भएको बताउँदै अध्यक्ष ठाकुरले भने,‘अहिले मधेशको गामघरमा बच्चादेखि बुढासम्मले नमस्कारको साटो जय मधेश भन्दैछन् । यो पनि आन्दोलनको एउटा उपलब्धी नै हो ।’
तमलोपाद्वारा मधेशी सञ्चारकर्मीहरुका लागि आइतबार काठमाडौंमा आयोजित ‘मधेश आन्दोलन–३ का मुद्दाहरु र सञ्चार’ विषयक विचार–विमर्श कार्यक्रममा ठाकुरले आन्दोलनका विषयमा धारणाहरु राखेका हुन् ।
अध्यक्ष ठाकुरले नेपालमा आफूहरु अनुहारका कारण विभेदमा परेको बताउँदै भने,‘हाम्रो यस्तै अनुहार हो फेर्न सकिदैन । यही अनुहारको पहिचान स्थापना गर्न चाहन्छौं । यही मधेशी अनुहारले अधिकार लिन चाहन्छौं ।’
ठाकुरले मधेश एउटा राष्ट्र रहेको ठहर गर्दै भने,‘राष्ट्रका लागि सबै क्राईटेरियाहरु मधेशलाई पुगेको छ । तर हामी नेपालको सीमाना भित्रकै मधेश खोज्दैछौं । हामी विखण्डनकारी होइनौं ।’
कार्यक्रममा मधेशी सञ्चारकर्मीहरुले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा हुलाकी न्यूज डटकमले मधेश आन्दोलनमा खेलेको भूमिकाको प्रसंशा पनि गरिएको थियो ।
कार्यक्रममा सहभागी अधिकांश सञ्चारकर्मीहरुले आन्दोलनका क्रममा मधेशी मिडियाहरुलाई मधेशी मोर्चाले नजरअन्दाज गरेको आरोप लगएका थिए । उनीहरुले अवको आन्दोलनका लागि मिडिया नीति र संयन्त्र बनाउन सुझाव दिए ।
त्यस्तै सञ्चारकर्मीहरुले मधेशका मुद्दामा सक्रिय मिडियाहरुको विकास तथा विस्तारका लागि पहल गर्न तमलोपालाई आग्रहसमेत गरे ।



