sanjay_sah
हुलाकी न्यूज, जनकपुरधाम २५ चैत । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वराज्य मन्त्री संजय साह प्रहरी हिरासत भित्रै आमरण अनसनमा बसेका छन् ।

विहीबार विहानबाट उनी आमरण अनसनमा बसेको परिवारजनले जनाएको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता साहका भाई डा.रामकुमार साहले अनसन बारे जानकारी गराए ।

डा.साहले दिएको जानकारी अनुसार सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको न्यायिक छानविन हुनु पर्ने मुख्य माग राखी नेता साह आमरण अनसनमा बसेका हुन् ।

नेता साहको भनाई उधृत गर्दै डा.साहले भने,‘जनकपुर बंम काण्डमा म दोषी रहेको प्रमाण प्रहरीले अहिलेसम्म जुटाउन सकेको छैन । मलाई जुन मोबाईल नम्बरको आधारमा दोषी रहेको आरोप लगाइएको छ त्यस मोबाईल नम्बरको कल डिटेल अहिलेसम्म प्रहरीले बुझाएको छैन । जनकपुर बंमकाण्डमा म सफाई पाउने भएपछि मलाई सम्पति सुद्धिकरणमा फसाउने प्रयास भयो । सम्पति सुद्धिकरणमा संसदीय समितिले छानविन गरेर गैरकानुनी तरिकाले मेरो सम्पति रोक्का गरिएको प्रतिवेदन बुझाएको छ । सम्पति फुकुवा गर्न निर्देशन दिएको एक वर्ष हुन लाग्यो तर पनि मेरो र परिवारको सम्पति फुकुवा गरिएको छैन ।’

‘सम्पति सुद्धिकरणमा पनि म निर्दोश सावित भएपछि मलाई अहिले सञ्चार उद्यामी अरुण सिंघानियाको हत्यामा फसाउने प्रयास हुँदैछ । राजीतिक दबाबका कारण मेरा राजनीतिक भविष्य समाप्त पार्न एकपछि अर्को गरी ममाथि मुद्दाहरु लगाइदै गएको छ ।’–नेता साहको भनाई उधृत गर्दै डा.साहले भने ।

‘म दोषी छु भने ममाथि कारवाही होस्, म जस्तो सुकै कारवाही भोग्न तयार छु । तर सत्यथत्य छानविन होस् । अहिले मलाई फसाइएका मुद्दाहरुमा प्रविधि अर्थात पोलिग्राफ गरेर अनुसन्धान गरियोस् । अथवा न्यायिक छानविन होस् । होइन भने मेरो करियर त्यसै पनि बरबाद गरिदैछ । म प्रहरी हिरासत मै आमरण अनसन गरी ज्यान दिनेछु ।’–नेता साहको भनाई ।

यता सिंघानिया हत्या काण्डमा प्रहरीले चैत १८ गते गरेको पत्रकार सम्मेलनमा मध्यमाञ्चल क्षेत्रीय प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्यायले सिंघानियाको हत्या आर्थिक फाईदाका कारण भएको बताएका थिए ।

तर त्यसको एक साता नवित्दै धनुषा प्रहरीले सिंघानियाको हत्या नेता संजय साहले समाचार छापेको कारण गराएको दाबी गरेका छन् ।
यता स्व.सिंघानियाका छोरा राहुल सिंघानियाले आफ्नो बुबाको हत्या समाचारको कारण नभएको बताउँदै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् ।

यता जनकपुरका स्थानीय पत्रकार शैलेन्द्र क्रान्तिले सिंघानिया हत्या काण्ड बारे आफ्नो फेसबुकमा लेखेको कुरा जस्तैको त्यस्तै

अपराधी जो कोहि होस् कडा भन्दा कडा कारबाही हुनु पर्छ । तर बहुचर्चित सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डमा प्रहरीले अनुसन्धान पश्चात जनकपुर बमकाण्डको आरोपमा थुनामा रहेका निलम्बित सभासद संजय साह (टकला) मुख्य योजनाकार रहेको ठहर गरेपछि सबै तिर प्रहरीको अनुसन्धानप्रति आशंका पाईदा भएको छ । सिंघानियालाई हत्या गराउन सुटर व्यवस्थापनको जिम्मा लिएका कथित तराई जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादवलाई गएको चैत १७ गते पक्राउ परी १८ गते सार्वजनिक गर्ने बेला पत्रकार सम्मेलनमामध्यमाञ्चल क्षेत्रका प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्यायले आर्थिक फाईदाकै लागि सिंहानियाको हत्या भएको दावी गर्नु भएको थियो ।

तर चन्द्रदीपको बयानको आधारमा एक साता नवित्दै समाचार सम्प्रेशनको कारण संजय साहले नै हत्या गराएको प्रहरीले अनुसन्धानबाट ठहर गरेपछि प्रहरीको अनुसन्धान रहस्यमय भएको शंका उत्पन्न भएको हो । संजय साहले आफुलाई बद्नाम गराउने समाचार जनकपुर टुडे पत्रिकारमा प्रकाशित भएको भन्दै अरुण सिंनियालाई हत्या गरेको प्रहरीले अनुसन्धानबाट खुलेको दावी गरेको छ । प्रहरीले एक साता अघि सिंघानियाको हत्या ९९ प्रतिशत आर्थिक फाईदाकै लागि भएको दावी गर्नु र एका एक समाचार सम्प्रेशनको कारणले सिंहानियाको संजय साहले हत्या गरेको ठहर गर्नु यहि दुई कुराले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिन्ह खडा गरेको छ । वास्तमा समाचार संप्रेशनसंग मात्र सम्पादक र रिपोर्टरको विषेश सरोकार हुन्छ ।

प्रकाशक भनेको लगानी कर्ता मात्र हो । समाचारसंग त्यति सरोकार पनि राख्दैन । तर सम्पादकलाई त्यस समाचारको विषयमा अलिक पनि जानकारी नहुनु र समाचार सम्प्रेशनकै कारण सिंहानियाको हत्या हुनुले यस भित्र अझै भित्रि ठुलै राज रहेको आम सर्वसाधारणको अडकल छ । कहीँ वास्तविक अपराधीलाई राजनितीक शक्ति अथवा आर्थिक चलखेलको आडमा प्रहरीले बचाउँ त गर्न खोजेका हैनन् भन्ने चौतर्फी प्रश्नसमेत उब्जेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.