
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २५ चैत । भारतको गुवहाटीमा सम्पन्न १२ औं एशियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिई उत्कृष्ट पदक प्राप्त गर्न सफल भएको राष्ट्रिय खो–खो टीमका खेलाडीहरु पुनः भारततर्फ लागेका छन् । उपहार स्वरुप गच्छा पाएका खेलाडीहरु गम्छा लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन लागेको पहिलो पटक हो। ।
भारतको इन्दोरमा चैत्र २६ देखि हुने तेस्रो एशियन च्याम्पीयनशीपको खेलमा सहभागी हुन राष्ट्रिय टोली बुधवार भारतका लागि प्रस्थान गरेका हुन् । ईन्दोरको खेलमा सहभागि हुन देशभरबाट पुरुषतर्फ १५ जना र महिलातर्फ १५ जना खेलाडीले खेल्ने छन् ।
दुवै टीममा धनुषाबाट पुरुषतर्फ ६ जना र महिला तर्फ ५ जना खेलाडी सहभागि छन् । जसमा पुरुष टिमको क्याप्टनमा पंकज मिश्र र सह क्याप्टनमा श्याम बुढाथोकी रहेको छ भने महिला टिमको क्याप्टन अर्पणा महतो र सह क्याप्टन दिलकुमारी तामांङग रहेको छ ।
धनुषाका पंकज मिश्र, प्रमोद कुमार राय, मिलन राय, रामविनायक सिंह, ईन्दल राय कुर्मी, संजय राय दुनुवार पुरुष टीममा र अरपना महतो, रोना सिंह, अस्मिता सिंह, मनिषा भुजेल, सिता साह महिला टीममा रहेका छन् । टीमको प्रशिक्षकको रुपमा महिला तर्फ राजेन्द्र सिंह र पुरुषतर्फ जिल्ला खो खो संघ धनुषाका अध्यक्ष धिरेन्द्र यादव पनि भारत गएका हुन् ।
धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि खो–खो टीमलाई भव्यताका साथ शुभकामनासहित बिदाई गरिएको छ ।
आयोजित बिदाई कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल खो–खो संघका केन्द्रिय अध्यक्ष श्रीप्रसाद साहले खेलाडी तथा प्रशिक्षकहरुलाई फुलमाला, अबिर र दोसल्ला ओढाई विदाई गरेका थिए ।
त्यसैबीच जिल्ला खो–खो संघका सचिव विरेन्द्र सिंह र जिल्ला खो–खो सघका कोषध्यक्ष सुजित कापडीद्धारा खेलमा सहभागि हुन गइरहेको खेलाडी तथा प्रशिक्षकहरुलाई मिथिलाको उपहार गमछा प्रदान गरिएको थियो ।
कार्यक्रममा धनुषाका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेती, क्षिरेश्वरनाथ नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरी, कवड्डी तथा खो–खो खेलका वरिष्ठ भुपु प्रशिक्षक रामनरायण राय, सुटिङ्ग संघका जिल्ला अध्यक्ष जंगीलाल महतो, अन्तरािष्ट्रय कवड्डी खेलाडी मनोज सिंह, नेपाली कांग्रेसका क्षेत्र नं. ५ का पूर्वसभापति मोहन माथेमा लगायत खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।



