
हुलाकी न्यूज, काठमाडौं २५ चैत । संयुक्त मधेशी विद्यार्थी मोर्चाले अहिलेको अवस्थामा निर्वाचनमा जान नसकिने त्रिभुवन विश्व विद्यालयका उपकुलपतिलाई जानकारी गराएका छन् ।
विहीबार विहान उपकुलपति तिर्थ खानिया र संयुक्त मधेशी विद्यार्थी मोर्चाबीच भएको छलफलमा विद्यार्थी नेताहरुले अहिले कुनै पनि हालतमा निर्वाचनमा जान नसकिने अडान राखे ।
विद्यार्थी मोर्चाका तर्फबाट तराई–मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष सुरेश मण्डलले जारी मधेश–थरुहट आन्दोलनमा ५७ जनाभन्दा अधिक सहिद भएकोले हामी अहिले किरियामा रहेको बताउँदै निर्वाचनमा जान नसकिने बताए ।
मण्डलले भने,‘अहिले हामी सहिदहरुको किरियामा छौं, हामी किरियामा बस्ने कि निर्वाचनमा जाने उपकुलपति ज्यू ? अहिले हामी कुनै पनि हालतमा निर्वाचनमा जाँदैनौं र कुनै पनि बाहानामा मधेशमा कुनै किसिमको चुनाव हुन दिन्नौं ।’
अध्यक्ष मण्डलले पुरानो सहमति अनुसार मिश्रित प्रणालीमा निर्वाचन हुन नदिने भन्दै अव देशमा भएको परिवर्तनसँगै त्रिवि पनि बदलिनु पर्छ । राज्यको प्रमुख एजेण्डा संघीय र समानुपातिक समावेशी अनुसार निर्वाचनका लागि आन्दोलनपछि तयारी हुनु पर्ने बताए ।
त्यस्तै, विद्यार्थी फ्रण्टका महासचिव मनिष मिश्राले कुनै विद्यार्थी संगठनको दबाबमा निर्वाचन गराइए त्यसको परिणाम दुर्घटनापुर्ण हुने चेतावनी दिए ।
मिश्राले केही विद्यार्थी संगठनहरु आन्दोलनलाई विथोल्न निर्वाचन गराउन खोजेको आरोप लगाउँदै कुनै पनि हालतमा निर्वाचन हुन नदिने बताए ।
उनले मधेश बाहेकका स्थानमा चुनाव गर्ने प्रस्ताव आएको र उक्त प्रस्ताव अनुसार चुनाव भए आफुहरुले आफ्नै तरिकाले मधेशमा चुनाव गराउने चेतावनी दिए ।
छलफलमा समाजवादी विद्यार्थी संघका उपाध्यक्ष दिपक महतो र सचिव रंजित निस्पक्ष सहभागी थिए ।
मलाई दबाब दिइदैछ : उपकुलपति
उपकुलपति तिर्थ खनियाले आफुमाथि केही विद्यार्थी संगठनहरु निकै दबाब दिइरहेको बताए ।
उनले अदालत पनि निर्वाचनको पक्षमा रहेकोले निर्वाचन गराउनु बाध्यता पनि रहेको सुनाए ।
खनियाले मधेशी विद्यार्थी संगठनहरुलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै भने,‘तपाईहरु निर्वाचनमा आउनुस, हामी कमभन्दा कम क्षति हुने गरी निर्वाचन गराउन चाहन्छौं ।’
उपकुलपतिले यस विषयमा पुनः छलफल गर्ने बताए ।



