हुलाकी न्यूज, जनकपुरधाम २४ चैत । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं निलम्बित सांसद संजय साहलाई पोलीग्राफी गर्न उनकै परिवारजनले माग गरेका छन् ।
नेपाल प्रहरी प्राविधिक रुपमा सक्षम भएकोले पोलीग्राफीको माध्यम साहमाथि अनुसन्धान गर्न उनकी श्रीमतिले माग गरेकी छन् ।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफ्नो श्रीमानलाई राजनीतिक दबाबका कारण फसाइएको दाबी गरिन् ।
उनले भनिन्,‘अहिले नेपाल प्रहरी प्राविधिक रुपमा सक्षम भईसकेको छ । मेरो श्रीमानलाई पोलीग्राफीको माध्यमले अनुसन्धान गर्न आग्रह गर्छु । मेरो श्रीमान् अरुण सिंघानियाको घटनामा दोषी छ भने कारवाही हुनु पर्छ । होइन भने राजनीतिक दबाबमा मेरो श्रीमानलाई फसाउन पाइँदैन ।’
उनले राजनीतिक दबाब कारण आफ्नो श्रीमानलाई विभिन्न मुद्दामा फसाईएको दाबी गर्दै अत्याधुनिक प्रविधिको प्रयोग गरी आफ्नो श्रीमानलाई अनुसन्धान गर्न माग गरिन् ।
उनले नागरिक समाजसहित केन्द्रीय अनुसन्धानको टोलीलाई यस घटनाको छानविन गर्न आग्रहसमेत गरिन् ।
यता धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी समाचारका कारण अरुण सिंघानियाको हत्या भएको जनाएको छ । प्रहरीले संजय साहका विरुद्ध जनकपुर टुडेमा समाचार आएकोले सिंघानियाको हत्या गराएको दाबी गरेको छ ।
तर पत्रकार सम्मेलन मै प्रहरीको भनाईलाई पत्रकारहरुले विरोध गरे । पत्रकारहरुले प्रहरीको अनुसन्धान अपुरो रहेको बताए ।

तस्बिर : घनश्याम मिश्र



