
बारा लिपनीमालका किशोरकिशोरी आफ्नो गाउँलाई ‘नमुना गाउँ’ बनाउने अभियानमा लागेका छन्। विभिन्न जातका किशोरकिशोरीहरुले गाउँमा संवाद केन्द्र स्थापना गरेर स्वास्थ्य, शिक्षा, सरसफाई, बालविवाह र छुवाछुतका बारेमा छलफल गर्ने गरेका छन्।
भविष्यमा नर्स बन्ने लक्ष्य लिएकी लिपनीमालकी–१३ वर्षीय सायमा खातुनलाई गत वर्ष सम्म अभिभावकले सानो उमेरमै विवाह गरिदिने हो कि भन्ने डर थियो। तर उमेर नपुग्दै विवाह गर्दा शारीरिक र मानसिक समस्या निम्तने कुरा अभिभावकलाई पत्र मार्फत लेखेको कुरा बुझाएपछि उनी अहिले ढुक्कका साथ गाउँकै विद्यालयमा पढ्दै आएकी छन्। उनी मात्र होइन लिपवीमाला गाविसका ५५ जना किशोरीहरुले सामुहिकरुपमा अभिभावकलाई बालविवाह रोक्न चिठी लेखेका हुन्।
बारामा ठूलो समस्याका रुपमा रहेको बालविवाह अहिले एक वर्षमा न्यूनीकरणतर्फ गएको सरोकारवाला निकायले बताएका छन्। सानो उमेरका छोराछोरीलाई विद्यालय पठाउनुभन्दा विवाह गरेर जिम्मेवारीबाट पन्छिने गरेका यस क्षेत्रका अभिभावकमा आएको परिवर्तनले किशोरकिशोरीमा निकै खुसी थपेको छ। ‘गाउँमा यति धेरै परिवर्तन आउला भन्ने सोचेका पनि थिएनौं तर अहिले निकै परिवर्तन आएको छ’, बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको संवाद सञ्चालकी १५ वर्षीय सुमिन्त्री मण्डलले भनिन्, ‘अहिले गाउँका अभिभावक छोरा छोरीको विवाहलाई भन्दा पनि पढाइलाई महत्व दिन थालेका छन्।’

विभिन्न समुदायको बसोबास रहेको गाउँमा आफुहरु बालविवाहको विरोधमा रहेको संकेत जनाउन अभिभावकले सामुहिक प्रतिबद्धतासहित दुई सय घरमा निलो झन्डा झुन्ड्याएका छन्। किशोरीले बुवालाई लेखेको पत्रमा सानो उमेरमै विवाह गर्दा पाठेघरमा समस्या आउनुका साथै काम गर्न नसक्दा आर्थिक अबस्था पनि कमजोर हुने उल्लेख गरिएको छ। उनीहरुले बाराकै दोहरी, बन्जरिया र उत्तरटकैयामा गाविसमा बुवाआमालाई सम्झाइबुझाई २५ जना किशोरीको विवाह रोक्न सफल भएका छन्।
स्ट्रोम फोउण्डेशनको सहयोगमा दलित जनजाति उत्थान केन्द्रले सञ्चालन गरेको अभियानबाट १३ देखि १९ वर्ष उमेरका किशोरकिशोरीले गाउँमा संवाद सञ्जाल गठन गरेर सामाजिक विकृति बिरुद्ध अभियान चलाउँदै आएको स्ट्रोम फोउण्डेशनका अनुगमन अधिकृत रामनाथ ओझाले बताए। -लक्ष्मण केसी/सेतोपाटी



