
हुलाकी न्यूज, काठमाडौं २२ चैत । पछिल्लो समय सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पार्टी प्रवेश कार्यक्रमहरुमा सहभागी हुन भ्याईनभाई भएको छ ।
आन्दोलन स्थगित भएपछि सर्लाहीसहितका जिल्लामा कार्यक्रमहरु गर्दा पार्टीमा निकै नेता तथा कार्यकर्ताहरु प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतो बताउँछन् ।
उनका अनुसार सर्लाहीमा एक हजारभन्दा अधिक संख्यामा विभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
त्यस्तै मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) परित्याग गरी मृगेन्द्रसिंह यादवसहित सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
हालै पार्टीको विस्तारित बैठक विराटनगरमा हुँदा झापाका डा.रामबाबु गिरीसहितका नेताहरु सदभावनामा प्रवेश गरेका छन् ।
त्यस्तै सुनसरी र मोरंगमा यसैसाता सयौंको संख्यामा सदभावनामा प्रवेश गरेका छन् ।
आइतबार बारा जिल्लाका ३० गाविसका दलितहरु सदभावनामा प्रवेश गरेको महतोले बताए ।
त्यस्तै सोमबार करिब ४ सयको संख्यामा विरगञ्जमा युवाहरु सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
काँग्रेसको नगर समितिका संयोजकदेखि एमाले र एमाओवादीका नेताहरु सदभावनामा प्रवेश गरेका छन् ।
काँग्रेस–एमाले छोडेकालाई आन्दोलनमा ल्याउँदैछु : महतो
आन्दोलनका कार्यक्रम छोडेर पार्टी प्रवेशमा लाग्नु कतिको उचित हो भन्ने हुलाकी न्यूजको प्रश्नमा सदभावना अध्यक्ष महतोले आन्दोलनकै तयारीका लागि पार्टी प्रवेश गराई रहेको बताए ।
महतोले भने,‘आन्दोलनको क्रममा काँग्रेस–एमाले–एमाओवादी परित्याग गरेर आन्दोलनमा धेरै मधेशीहरु सरिक भएका छन् । उनीहरुलाई जोड्दैछु । पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु पार्टी विहीनरहन सक्दैन । तसर्थ उनीहरुलाई पार्टीमा ल्याएर आन्दोलनकारी शक्तिलाई थप मजगुत गर्दैछु ।’
महतोले अन्य पार्टीका नेताहरुलाई पनि मधेश विरोधी पार्टी परित्याग गरेर आउन आग्रह गरेका छन् ।



