हुलाकी न्यूज, काठमाडौं २१ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको अन्तर्वार्ता गर्न छुट नरहेको अभिव्यक्ति दिएका छन् ।
आइतबार अनलाईनखबरलाई दिएको अन्तर्वातामा अध्यक्ष कार्कीले प्रेस स्वतन्त्रताको नाममा मिडियाले पनि विखण्डनकारीलाई सहयोग र्पुयाउँनुहुँदैन बताउँदै डा.राउतको अन्तर्वार्ता गर्न छुट नरहेको बताएका छन् ।
उनले हालै एबीसी टिभीले गरेको डा.राउतको अन्तर्वार्ता सम्बन्धमा टिभीलाई कारवाही हुने बताएका छन् ।
अनलाईनखबरको अन्तवार्ता जस्ताको त्यस्तै
हालै एउटा टेलिभिजनमा प्रशारित सिके राउतको अन्तरवार्तालाई लिएर प्रेस काउन्सिलद्वारा कारवाही अघि बढाएको समाचार आएको छ, अन्तरवार्ता लिँदैमा यसरी कारवाही गर्न मिल्छ ?
टेलिभिजनले प्रशारण गरेको अन्तरर्वार्तामा राउतले खुलमखुला रुपमा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सदभावको विरुद्धमा अभिव्यक्ति दिएका थिए । त्यस्तो आपत्तीजनक विचार र भनाइबाट सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताको ठाडो उल्लंघन भएको देखिएको हुँदा प्रेस काउन्सिलले कारवाहीको प्रकृयालाई अगाडि बढाएको हो ।
यसरी कारवाहीका नाममा नागरिकको विचार र स्वतन्त्रताको हनन गर्न पाइन्छ ?
स्वतन्त्रता र स्वच्छन्दतावीच ठूलो फरक छ । स्वतन्त्रतामा अधिकार मात्रै हुँदैन, कर्तव्य पनि हुन्छ । स्वच्छन्दतामा अधिकार मात्र हुन्छ, कर्तव्य हुँदैन । स्वच्छन्दता अराजकतावादी अवधारणा हो । विश्वको कुनै पनि देशमा यो अवधारणालाई स्वीकार गरिएको छैन । यसले व्यक्ति, समाज र राष्ट्रलाई आघात पुर्याउँछ । नागरिकले स्वतन्त्रताको प्रयोग अन्य व्यक्ति, समाज र राष्ट्रलाई आघात नपुर्याउने गरी जिम्मेवार र उत्तरदायी भएर गर्नुपर्ने सर्वमान्य सिद्धान्त हो ।
नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता पनि यहि मान्यताबाट निर्देशित हुन्छन् । अन्य देशको संवैधानिक तथा कानूनी व्यवस्थाले झैं हाम्रो कानुनी व्यवस्थाले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सदभावलाई खलल पुग्ने गरी विचार र अभिव्यक्ति स्वतन्त्रलाई दुरुपयोग गर्न नपाउने व्यवस्था गरेको छ ।
सिके राउतको अन्तरवार्तामा जे विचार र अभिव्यक्ति आएका छन्, तिनीहरुबाट त्यस्तो व्यवस्थाको खुल्लम खुल्ला उल्लंघन भएको छ । यसबाट विचार र अभिव्यक्ति स्वतन्त्रताको हनन् होइन, चरम दुरुपयोग भएको छ ।
कुनै पनि नागरिकले बोल्नै नपाउने त कसरी भन्न सकिएला ?
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सदभावलाई संरक्षण र सम्वर्द्धन गर्ने दायित्व र कर्तव्य अन्य मुलुकको संविधानले झैं नेपालको संविधानले पनि नेपाली नागरिकलाई तोकिदिएको छ । जसले यो कर्तव्यको पालना गर्दैन र उल्लंघन गर्दछ, उसले नागरिकको हैसियतले प्राप्त गर्ने अधिकार नैतिक रुपले मात्र होइन, कानूनी रुपले पनि गुमाउँछ । यस्तो कर्तव्य पालना नगर्नु राज्य विरुद्धको अपराध हुन्छ र दण्डनीय हुन्छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच पुग्ने गरी कुनै पनि नागरिकले बोल्न पाइँदैन ।
कुनै पनि नागरिकको विचार र अभिव्यक्तिलाई प्रसारण गर्नु मिडियाको व्यवसायिक धर्म हो । सिके राउतको विचारलाई प्रसारित गर्दैमा कसरी मिडियाले गल्ती गरेको भन्न मिल्छ ?
जुन विचार र अभिव्यक्ति आपत्तिजनक, आपराधिक हुन्छन्, तिनीहरुको प्रचार-प्रसार गर्नु पनि दण्डनीय हुन्छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक खण्डता विरुद्ध बोल्ने, क्रियाकलाप गर्नेहरुलाई कुनै पनि किसिमले सहयोग पुर्याउने मतियार पनि कानूनको नजरमा कसुरदार नै हुन्छ । मिडियालाई पनि त्यो छुट हुँदैन ।
प्रेस स्वतन्त्रताको नाममा मिडियाले पनि विखण्डनकारीलाई सहयोग पुर्याउँनुहुँदैन । ‘राष्ट्रिय अखण्डतामा प्रतिकूल पार्न नहुने’ पत्रकार आचारसंहिताको दफा ४ मा स्पष्ट छ । पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्यहरु आचारसंहितामा स्पष्ट उल्लेख छ ।
सिके राउतलाई सरकारले कारवाही गर्न नसक्ने अनि उनको विचार प्रसारित गरेकै आधारमा मिडियालाई कारवाही गर्नु उपयुक्त हुन्छ र ? सरकारले कारवाही नगरेको व्यक्तिलाई अन्तरवार्ता लिन पाइन्छ भन्ने तर्क सुनिँदैछ नि ?
पत्रकारिता व्यवसाय सबैभन्दा जिम्मेवार र उत्तरदायी व्यवसाय हो । यो व्यवसाय राष्ट्र र जनताको संरक्षण गर्ने पहरेदार पनि हो । मुलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा मिडियाले सधैं सचेत रहनु पर्दछ र जनतालाई पनि सचेत रहन सूचना प्रदान गर्नु पर्दछ ।
सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन भने हामीले विखण्डनकारीका विचारहरुसम्म प्रचार प्रसार गर्न किन नपाउने भन्ने तर्क मिडियाको क्षेत्रबाट आउनु गैह्र जिम्मेवारपूर्ण अभिव्यक्ति हो ।
वर्तमान संक्रमणकालीन र संवेदनशील, अवस्थामा मूलकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र समाजिक सदभावको संरक्षण र सम्वर्द्धनका लागि मिडियाले जिम्मेवार र उत्तरदायी भूमिका निभाउन आवश्यक छ ।
विगतमा राज्यले माओवादीहरुलाई आतंककारी घोषित गरेका बेलामा पनि त उनीहरुका विचार नेपाली मिडियाहरुमा आएकै थिए त ? तपाई यसमा के भन्नुहुन्छ ?
राजनीतिक उद्देश्यले अभिप्रेरित विचार र क्रियाकलापसँग विखण्डनकारी कुराहरुलाई तुलना नै गर्न मिल्दैन । माओवादीले विखण्डनकारी कुरा त गरेका थिएनन् ।
त्यसैले माओवादीका विचार र क्रियाकलापलाई नेपाली मिडियाले स्थान दिएको उदाहरण दिएर विखण्डनकारी कुराहरुलाई प्रचार-प्रसार गर्न किन नपाउने भन्नु तर्कसंगत हुँदैन ।
सिके राउतको अन्तरवार्ता प्रशारित गरेकोमा अब प्रेस काउन्सिलले कस्तो कारवाही गर्ला ?
प्रेस काउन्सिले मागेको जवाफ उक्त टेलिभिजनले भर्खरै दिएको छ । त्यसको आधारमा प्रेस काउन्सिलले निर्णय गर्दछ । प्रारम्भिक रुपमा हेर्दा पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्त नै नबुझी सो टेलिभिजनले सिके राउतका आपत्तिजनक विचारलाई प्रचार प्रसार गरेको होला भनेर अनुमान गर्न सकिने स्थिति देखिँदैन ।
कि त उक्त टीभीको त्यस्तो कार्य प्रयोजित हो, कि त सस्तो लोकपि्रयताका लागि हो । या त सो अन्तरवार्ता मिडियाले जे गरे पनि हुन्छ भन्ने अराजकतावादी सोचबाट अभिप्रेरित भएर गरिएको हो । गल्तीको गम्भीरतालाई हेरेर पत्रकार आचारसंहिताको आधारमा सो टीभीमाथि कारवाही हुन्छ ।



