
हुलाकी न्यूज, काठमाडौं २१ चैत । सरकारले नै कालो बजारी बढाएको संयुक्त मधेशी विद्यार्थी मोर्चाले आरोप लगाएको छ ।
विद्यार्थी मोर्चाले नाकाबन्दी खुलेपनि अभाव कायमै रहेकोले कालो बजारीलाई सरकारले प्रोत्साहन गरिरहेको आरोप लगाएको छ ।
शनिबार समाजवादी विद्यार्थी संघको कार्यालयमा भएको विद्यार्थी मोर्चाको बैठकबाट कालो बजारीको जिम्मेबारी सरकारले लिनु पर्ने जनाएको छ ।
तराई–मधेश विद्यार्थी फ्रण्टका महासचिव मनिष मिश्राका अनुसार विद्यार्थी मोर्चाको बैठकले सर्वसाधारणको जनजिविका सँगै स्ववियु निर्वाचनका बारे पनि छलफल गरेको छ ।
महासचिव मिश्राका अनुसार स्ववियु निर्वाचन आन्दोलन पश्चात घोषणा गर्न विद्यार्थी मोर्चाले माग गरेको छ ।
मिश्राले भने,‘हामीले बारम्बार निर्वाचन गराउन भन्दा नमान्ने तर अहिले हामी आन्दोलनमा भएको बेला केही पार्टीहरुको मिलिमतोमा निर्वाचन गराउनु उचित होइन । त्यसले आगोमा घयू थप्ने काम गर्नेछ । आन्दोलन निष्कर्षमा पुगेपछि स्ववियु निर्वाचन गराउन उचित हुनेछ ।’



