ganga_prashad_yada

उपसभामुख, गंगाप्रसाद यादव

० मधेश आन्दोलनका माग सम्बोधनको विषयमा दुवै पक्ष आ–आफ्नै अडानमा छन् । यसलाई कुन रूपमा लिनुभएको छ ?

— दुवै पक्ष लचिलो भएर मधेशका समस्या समाधान गर्नु पर्छ । आ–आफ्नो अडानमा लचक नहुने हो भने समस्या ज्युका त्युँ रहन्छ । यो देश र जनताका लागि हितकर हुँदैन । त्यसैले दुवै पक्षले तत्काल समस्या समाधानतर्फ अग्रसर हुनु आवश्यक छ ।

० पछिल्लो समयमा मधेशका माग सम्बोधन गर्ने भनेर संविधान संशोधन गरियो । यो संशोधनले मधेश आन्दोलनका एजेण्डाहरू सम्बोधन गरेकै हो त ?

— सीमाङ्कन बाहेक अन्य माग केही हदसम्म सम्बोधन भइसकेको छ । र, बाँकी असन्तुष्टिहरू पनि सम्बोधन गर्दै जानुपर्छ । मधेशमा भइरहेको आन्दोलनलाई वार्ताबाट सहज तरिकाले समाधान गर्नुपर्छ । मधेश आन्दोलनलाई समाधान नगरिए मुलुकमा विकराल स्थिति सृजना हुन सक्छ ।

० मधेश आन्दोलनका मुख्य कार्यक्रम स्थगित गरिएको दुई महिना पुग्न लागेको छ । तर, अझै पनि वार्ता हुन सकिरहेको छैन । यसको कारण के होला ?

— दुवै पक्ष वार्ताका लागि गम्भीर बन्नु आवश्यक छ ।

० समस्या त्युका त्युँ रहँदा संसद्को काम कारबाहीमा कस्तो समस्या परिरहेको छ ?

— मुलुकका मुख्य समस्याहरू तत्काल समाधान गरिएन भने स्वभाविक रूपमा यसको असर त सबै ठाउँमा पर्छ । हाम्रो काम संसद् ठिक ढंगले चलाउने हो । अब यसका लागि छिट्टो समस्या समाधान गरी शान्त वातावरण बनाउने जिम्मा त नेताहरूकै हो ।

० मधेश आन्दोलनका ११ बुँदे एजेण्डाप्रति तपाईंको धारणा के छ ?

— नयाँ संविधान धेरै राम्रो बनेको छ । केही विषयमा समस्या देखिएको छ । ती विषय दुवै पक्ष बसेर टुंग्याउनुपर्छ । दुवै पक्ष लचिलो भएर वर्तमान समस्या समाधान गर्नुपर्छ ।

० मधेशका मुलभूत समस्याहरू के के छन् ?

— सीमाङ्कन बाहेक अरू त लगभग सम्बोधन भइसकेका छन् । कुरा सीमाङ्कन अडकिएको छ । दुवै पक्ष बसेर यो विषय पनि टुंग्याउनुपर्छ ।

० सीमाङ्कनको विषय टुंग्याउनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइयो । तर, यो संयन्त्र पनि विस्तार हुन सकेको छैन नि ?

— सबैको आ–आफ्नो स्वार्थ छ । निस्वार्थ भएर अगाडि नबढेसम्म समस्याको समाधान हुँदैन । मुलुक र नेपाली जनताको हितका लागि सबै नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ छाडेर समाधानतिर लाग्नुपर्छ ।

० मधेशकेन्द्रित दलले मधेशमा दुई प्रदेश हुनुपर्छ भन्दाखेरी यसलाई विखण्डनको खतरा भनेर भन्न थालिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

— प्रदेश बन्दा देश विखण्डनतिर जान्छ भन्ने कुरा मलाई लाग्दैन । एक, दुई अथवा तीन प्रदेश भए पनि मुलुक विखण्डन हुन्छ जस्तो मलाई लाग्दैन । भारतकै उदाहरण लिँदा पनि त्यहाँ थुप्रै प्रदेश छन् । तर, विखण्डनतर्फ त गएको छैन नि । नेपालमा जति पहाडी समुदाय राष्ट्रवादी छन्, त्यति नै मधेशहरू पनि राष्ट्रवादी छन् । भारतसँग तराईको सीमा जोडिएको छ । मधेशीहरूले आफ्नो भूभागको रक्षा गर्दै आएका छन् । त्यसैबाट प्रमाणित हुन्छ कि मधेशीहरू कति राष्ट्रवादी छन् । नेपाल भूमि प्रति मधेशीको कस्तो धारणा रहेछ भन्ने कुरा पनि यसबाट प्रष्ट हुन्छ ।

० मधेश आन्दोलनका माग सम्बोधन गर्नु वास्तवमा जटिल काम हो ?

— मधेशी नेताहरूबीच पनि को ठूलो बन्ने लडाइँ छ । उनीहरू मधेशको मसिहा बन्न खोजेका छन् । उनीहरूले पनि आफ्नो व्यक्तिगत स्वार्थ छोडेर लचक हुनुपर्छ । यता, सरकार पक्ष पनि लचक भएर अगाडि बढ्नुपर्छ । खासमा यो ठूलो समस्या होइन । दुवै पक्षले थोरै लचकता अपनाउने हो भने छिट्टै यो समस्या समाधान हुन्छ । दुवै पक्षले निष्पक्ष राष्ट्रवादीको भावना राखेर आ–आफ्नो निजी स्वार्थ छोडेर वार्तामा बसे समस्याको समाधान हुन्छ ।

० सुर्खेतमा आन्दोलन भयो, त्यसबेला त्यहाँको समस्या तत्काल सम्बोधन गरियो । तर, मधेशमा त्यत्रो दिनसम्म आन्दोलन चल्दासमेत सम्बोधन गरिँदैन । यसलाई मधेशीसँगको विभेदको अर्को उदाहरण भन्न मिल्छ ?

— यो त सम्बन्धित व्यक्तिहरू सोधे राम्रो हुन्छ । म यो भन्न असमर्थ छु ।

० पछिल्लो समयमा मधेशीसँगको विभेदको स्तर कस्तो पाउनुभएको छ ?

— त्यो त पहाडी नेताहरूले पनि भन्दै आएका छन् कि मधेशीसँग विभेद भइरहेको छ । माओवादीले पनि भन्दै आएको छ कि मधेशीसँग धेरै अन्याय भइरहेको छ । त्यसपछि मधेशीलाई विश्वासमा लिन कांग्रेस र एमालले पनि भन्न थाले कि मधेशीसँग विभेद भएको छ ।

० नश्लका आधारमा विभेद गर्ने काम अहिले घट्दै गएको हो ?

— यो नेपालमा मात्र होइन, विश्वका थुप्रै मुलुकमा यस्तो समस्यामा छ । कालोलाई गोरोले हेप्ने, बहुसंख्यकले अल्पसंख्यकलाई हेप्नेलगायतका कुरा सबै देशमा कुनै न कुनै रूपमा भएको देखिन्छ । नेपालमा पनि केही उच्छृंखल तत्व छन्, यसले यस्ता कार्यलाई निरन्तरता दिएका छन् । तर, मधेशीलाई हेप्ने कुरामा धेरै नै कमी आएको छ ।

० मधेशीसँग विभेदको सुरूवात कहिलेबाट हुन थालेको तपाईंले महसुस गर्नुभएको छ ?

— २०४६ सालपछि नै यस्तो देखिएको हो । पञ्चायतकालमा यस्तो अवस्था थिएन । सबै मिलेर बसेका थिए ।

० बढाउने काम कसले गरिरहेका छन् त ?

— पहाडी र मधेशी शीर्ष नेताहरूकै कारण यो समस्या समाधान भइरहेको छैन । जनताको कुनै दोष छैन । जनता मिलेर बस्न खोजेका छन् । जनताबीचमा पहाडी र मधेशी भन्ने छैन । नेताहरूकै कारण मधेशी र पहाडीबीचको खाडल बढेको हो । हाम्रो देशमा आध्यात्मिक, राष्ट्रवादी र इमान्दार नेताको आवश्यकता छ ।

० मधेश आन्दोलन पहिचानको लडाइँ हो कि अधिकारको लडाइँ हो ?

— कतिपय अवस्थामा मधेश आन्दोलन ठिक छ भने कतिपय अवस्थामा गलत पनि छ । आन्दोलनका विभिन्न स्वरूप देखिएका छन् । कहीं तोडफोड भएको छ भने कहीं शान्तिका साथ आन्दोलन भएको छ । अशान्त तरिकाले गरिएको आन्दोलनलाई कसैले पनि ठिक भन्दैन । शान्त तरिकाले आन्दोलन गर्नुपर्छ । त्यस्तै, आन्दोलनमा सरकारले दमन ग¥यो भने त्यो पनि ठिक होइन । सहज तरिकाले माग राख्न दिनुपर्छ । हिमाल, पहाड र तराईका जनताले शान्ति चाहेका छन् ।

० २०६४ मा मधेश आन्दोलन भएको थियो । अहिले पनि आन्दोलन चलिरहेको छ । मधेशीले पटक–पटक किन आन्दोलन गर्नु परिरहेको होला ?

— मधेशी जनता आफ्नो अधिकारका लागि सडकमा आएका छन् । उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।

० मधेशीलाई प्रायः आरक्षण कोटा मात्र सीमित पारिन्छ । खुला प्रतिस्पर्धाबाट मधेशीहरू नगण्य मात्रा मात्र चुनिन्छन् । पछिल्लो समयमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पनि यस्तो अवस्था देखियो । यसको कारण के होला ?

— अहिलेको संविधानमा प्रष्ट गरिएकै छ । समानुपातिक समावेशी गर्ने भनेर संविधानमा प्रष्ट गरिएकै छ नि ।

० व्यवहारमा त्यस्तो देखिएको छैन नि ?

— अहिले संविधान लागू भएको छैन । संविधान पूर्ण रूपमा लागू भएपछि स्वभाविक रूपमा सबैले स्थान र पहुँच पाउने छन् । यो अन्तरवार्ता मधेशवाणीमा प्रकाशित छ ।

2 COMMENTS

  1. meta haru sacha ta imandar hunu parcha re, aafai ta hatyara hoon, ani antarbata ma kin sodhiyen, yesle pani ta nirdosh manche marer, sarkari pahuch bhayeko le bache ko cha ni, natra tai thau ma garib janta bha ko bhaye, kaile jel ma sadi sakeko hunthe,

  2. yo hatyara ho sir, sabai lai thaha bha kai kura ho, sab neta hatyara ho, madhesi neta hos ya pahadi, sab satta ra pahuch ko durupyog gardai cha, kasle banayo hatyara lai up sabhamukh, bichar garnus, hatyara le pani kanun banauna sakcha ra, kasto khal ko kanun banaula ta yesle, pad ko lagi mukh pani kholna sakeko chai na gadha le,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.