
(समाचार विश्लेषण) हुलाकी न्यूज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चैत पछि आन्दोलन गर्ने घोषणा गरिसकेको छ । जसको तयारी स्वरुप मोर्चाका घटकहरु सक्रिय भएका छन् ।
मोर्चाका नेताहरु आन्दोलनको सफलताका लागि गैरमधेशी समुदायको पनि समर्थन खोज्दैछन् । जसअनुसार आदिवासी–जनजातिलगायतका समूहसँग निरन्तर छलफल हुँदैछ ।
मधेशी मोर्चामा नेतृत्वदायी भूमिका खेलिरहेका तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आन्दोलनका लागि काठमाडौंको समर्थन खोज्दैछन् ।
ठाकुर, काठमाडौंको समर्थन विना आन्दोलन सफल हुन सक्दैन भन्ने कुरा बुझेर काठमाडौंका प्रबुद्ध व्यक्तिहरुको ध्यानाकर्षण गराउँदैछन् ।
मधेशी मोर्चाका नेताहरु मध्ये पाका नेता ठाकुर बुधबार काठमाडौंमा रहेका प्रबुद्ध व्यक्तिहरुसँग छलफल गरेर आगामी आन्दोलनको बाटो तय गर्न लागेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरी ठाकुरले मधेशी र गैरमधेशी समुदायका व्यक्तिहरुसँग समर्थन मागेका थिए । ठाकुरलाई कसैले निरास पनि गरेनन् ।
ठाकुरलाई उनीहरुले समर्थन गर्ने विश्वास दिलाए । गैरमधेशी समुदायका व्यक्तिहरुले पनि आन्दोलनमा आफ्नो सक्रिय सहभागीता रहने बाचा दिए ।
चैत पछि हुने आन्दोलनमा काठमाडौंको साथ रहने ठाकुरको विश्वास छ । सोही अनुरुप मधेशी मोर्चाले कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन चटारो रहेपनि आन्दोलनलाई सँगसँगै लग्ने नीति रहेको देखिन्छ ।



