
हुलाकी न्यूज, काठमाडौं १८ चैत । चुरे जोगाउन राष्ट्रिय मधेश समाजवादी पार्टीले लडाकु दस्ता तयार गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठकबाट चुरे जोगाउन समाजवादी रक्षक दस्ता निर्माण गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयमा भनिएको छ, ‘चुरे मधेशको शिर भाग भएको हुनाले चुरे बिना मधेश प्रदेशको कल्पना पनि गर्न नसक्ने ठहर गरेको छ । अहिले चुरे बिनासले गर्दा मधेश दिनप्रति दिन मरभूमि बन्दै गईरहेको र वातावरणमा समेत प्रतिकुल प्रभाव परी समयानुकुल बर्षात पनि नहुने र वातावरण पनि प्रदुशित हुँदै गईरहेको हुनाले चुरे संरक्षणका निम्ति ‘‘चुरे जोगाऊ, मधेश बचाऊ ” मुल नाराका साथ ‘‘समाजवादी रक्षक दस्ता” गठन गर्ने निर्णय गरेको छ ।’
त्यस्तै विस्तारित बैठकले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संघीय गठबन्धन नेपाललाई अझै शसक्त र प्रभावकारी बनाउँदै तराई मधेशमा मात्रै नभई पहाड र हिमालमा पनि चैत्र मसान्त पछि उत्पीडित जातजाती र समुदायहरुको अधिकार प्राप्तीको निम्ति राष्ट्रिय स्वरुपकै शसक्त आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।
त्यस्तै छानविन आयोग तत्काल गठन गर्न मागरिएको छ । र, काठमाडौंमा उपचाररत घाइतेहरुलाई औषधिउपचार खर्चको व्यवस्था तत्काल गर्न माग गरिएको छ ।
‘‘संघर्ष र संगठन सँगसँगै” नाराका साथ संगठन बिस्तार गर्ने पार्टीले निर्णय गरेको छ ।
बैठकबाट हुलाकी सडक निर्माणका लागि सरकारलाई दबाब दिने निर्णयसमेत गरिएको प्रवक्ता केशव झाले बताएका छन् ।



