हुलाकी न्यूज, जनकपुर १७ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको स्नातकोत्तर तहको एमडि/एमएस को प्रवेश परीक्षामा जनकपुरका चिकित्सक डा. सुजित कुमार झाले प्रथम स्थान ल्याएका छन् । शिक्षण अस्पताल महाराजगञ्जले १३ चैत्र २०७२ मा लिएको एमडि/एमएस तहको परीक्षामा डा. झाले ८० प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट स्थान हासिल गरेका हुन् ।
हाल जनकपुरमा बस्दै आएका सिरहा जिल्ला चतरी गाउँका डा. झा एक हजार सात सय २५ विद्यार्थीमध्ये सर्वोत्कृष्ट भएका हुन् । डा. झा स्वास्थय मन्त्रालय अन्तर्गत स्थाई नियुक्तमा दुर्गममा कार्यरत चिकित्सक हुन् । उनी हाल देउरी परवाहा, प्रास्वाकेमा कार्यरत छन् ।
साहित्य लेखनमा विशेष रुचि भएका डा. झा एमडि तहको अध्ययन पछि नेपालमै बसेर काम गर्ने सोचाईमा छन् ।
मेडिकल विधामा उत्कृष्ट मानिएको शिक्षण अस्पताल महाराजगञ्जले हरेक वर्ष आफ्नो र सम्बन्ध प्राप्त मेडिकल कलेजमा अध्ययन गर्नका निमित्त विद्यार्थी छनौटका लागि यो परिक्षा लिने गर्दछ । एमबिबिएस पश्चात् गरिने तीन वर्षे एमडि र एमएसका लागि महराजगञ्जमा कुल एक सय सिटका लागि भिडेका एक हजार सात सय २५ जना मध्ये यस वर्ष आठ सय जना उत्तीर्ण भएका छन् ।
यस वर्षबाट स्नातकोत्तर तहको मेडिकल शिक्षाका सबै सिट पुर्ण रुपमा निशुल्क गरिएको छ । उत्तीर्ण भएका हरु लाई क्रमशः योग्यताक्रम र ओपन काउनसेलिङका आधारमा विषय छनौट गर्न दिइनेछ ।



