
हुलाकी न्यूज, काठमाडौं १७ चैत । मधेश आन्दोलनमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले केही स्थानमा सशस्त्र गतिविधि गरेको थियो ।
जसका सैन्य कमाण्डर पक्राउ परिसकेका छन् भने अध्यक्ष चन्द्रदीप यादव गएराती जनकपुरधामबाट पक्राउ परेका छन् ।
यादव मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)बाट धनुषामा चुनावमा उठेका थिए ।
केही महिनाअघि धनुषामा काँग्रेस नेताको हत्या तथा कार्यकर्तामाथि गोली प्रहारको जिम्मेबारी जनतान्त्रिक टाईगरले लिएको थियो ।
यादवको पक्राउ बारे प्रहरीले औपचारिक जानकारी दिएको छैन । हुलाकी न्यूजसँग कुराकानी गर्दै धनुषाका एसपी रामदत्त जोशीले यादवको पक्राउ बारे अहिले सार्वजनिक नगरिएको बताए ।
सञ्चार उद्यामी सिंघानियाको हत्याका आरोपी
पक्राउ परेका यादव जनकपुरका सञ्चार उद्यामी अरुण सिंघानियाको हत्याका आरोपितसमेत छ ।
यादवमाथि सिंघानियाको हत्या गरेको आरोप प्रहरीले लगाउँदै आएको छ ।



