
हुलाकी न्युज, जलेश्वर, १६ चैत । सिँचाइमन्त्री उमेशकुमार यादवले दुई नम्बर प्रदेशका सूचना मैथिली र भोजपुरी भाषामा प्रवाह गर्न आफ्ना मातहतका सरकारी कार्यालयहरुलाई निर्देशन दिएका छन् ।
हिजो सोमबार महोत्तरी जिल्लाको बिग्ही सिँचाइ आयोजनाको स्थलगत अनुगमनपछि सिँचाइ डिभिजन कार्यालय जलेश्वरमा आयोजित कार्यक्रममा मन्त्री यादवले मातहतका कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।
जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय, सिँचाइ डिभिजन कार्यालय, भूमिगत सिँचाइ कार्यालय र जनकपुरस्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका अधिकारी, किसान सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । उनको यस्तो निर्देशन उपयुक्त रहेको सहभागिहरुको प्रतिक्रिया थियो ।
मन्त्री यादवले सिचाइसँग सम्बन्धित सूचना तथा जानकारीलाई दुई नम्बर प्रदेशका पूर्वी जिल्लामा मैथिली र पश्चिमी जिल्लामा भोजपुरी भाषामा प्रकाशन एवम् प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
सिँचाइ कार्यालयबाट पाइने सुविधा, माग फारम तथा अन्य फारम कहाँबाट प्राप्त गर्नेजस्ता अत्यावश्यक कुरालाई सबैले बुझ्ने भाषामा सूचना प्रकाशन गर्नुपर्ने उनको भनाइ थियो ।
(File Photo)



