
हुलाकी न्यूज, जलेश्वर, १६ चैत । बिहिबारदेखि सञ्चालन हुन गइरहेको प्रवेशिका परिक्षाको लागि महोत्तरीमा केन्द्राध्यक्ष नियुक्त गरिएको छ । परीक्षाको २८ केन्द्र मध्ये ३ केन्द्रमा यसपाली यहाँ महिला केन्द्राध्यक्ष नियुक्त गरिएको छ ।
देउराली मावि बर्दिवास,उमावि खखना लोटना र रतौली उमाविमा क्रमशः रमा ढकाल, शान्तिकुमारी अधिकारी र कविता कुमारी महतोलाई केन्द्राध्यक्षमा खटाईएको छ । देउराली मावि र खखना लोटनामा मावि शिक्षक नभएको तथा रतौलीमा केहि विवाद रहेकोले महिलालाई प्राथमिकता दिदै यो पहिलो प्रयास गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यसपाली महोत्तरीबाट नियमित तर्फ ७५७५ र एक्जाम्टेड तर्फ ४७४२ गरि कुल १२ हजार ३ सय १७ विद्यार्थी एसएलसी परिक्षामा सहभागि हुँदै छन् । साथै २८ परिक्षा केन्द्रको लागि २८ केन्द्राध्यक्ष, ५३ सहायक केन्द्राध्यक्ष, ५०५ निरिक्षक र हरेक ५० विद्यार्थीको लागि एक परिचर तोकिएको छ ।
त्यसैगरि गस्ती टोली र अनुगमन टोली बाहेक सबै केन्द्रका लागि २५० प्रहरी समेत सुरक्षाको लागि खटिने छन् ।



