हुलाकी न्युज, वीरगञ्ज, १४ चैत । व्यपारीलाई अहपरण गरेर फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी जवान अरविन्द सिंह, वीरगन्जको पानीट्यांकीमा डेरामा बस्दै आएका दिपक सिंह र रानीघाटका भगवान सिंहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अरु तीनजनाको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले शनिवार राति उनीहरुलाई वीरगञ्जबाटै पक्राउ गरेको हो । नगवाका एक किराना व्यपारीलाई अपहरण गरेर उनीहरुले चार लाख रुपैयाँ फिरौती असुलेको प्रहरीको आरोप छ ।
प्रहरीले छापा मार्ने क्रममा भगवान सिंहको घरबाट चार लाख ७२ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका प्रहरी जवान सिंह अहिले सुर्खेतमा कार्यरत छन् ।
उनी केही समय पहिले जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण शाखामा कार्यरत थिए ।



