
हुलाकी न्यूज, जनकपुर, १४ चैत । धनुषामा अनैतिक सम्बन्ध लुकाउन एक १५ वर्षीया किशोरीको हत्या गरिएको छ ।
धनुषाको विक्रमपुर गाविस निवासी फुलगेन यादवकी १५ वर्षीय छोरी सुनिताकुमारी यादवको घाँटी न्याकेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
फुलगेन यादवकी कान्छी श्रीमती र ज्वाँई रामजीवन यादवबीच अनैतिक सम्बन्ध रहेको कुरा सुनिताले थाहा पाएपछि सुनिताको घाँटि थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
होलीका दिन सुनिताले दुवैलाई आपत्तिजनक अवस्थामा देखेकी थिइन् । मृतक सुनिताले आफ्नी सौतेनी आमा र भिनाजुलाई अनैतिक क्रियाकलापमा संलग्न रहेको देखेपछि पोल खुल्ने डरले घाँटी थिचि उनको हत्या गरिएको स्थानीयले बताए ।
मृत बालिकाको शव घाँस पराल तथा भुसा राख्ने घरमा फालेको अवस्थामा सोही टोलका एक युवकले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रामजीवन यादव फुलगेनका पहिलो श्रीमतिको छोरी ज्वाई हुन् भने मृतक सुनिता पनि पहिलो श्रीमतीकै छोरी हुन् ।
घटना पश्चात उक्त परिवारका सम्पुर्ण सदस्यहरु फरार रहेकाले घटना झन् जटिल बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



