Birgunj_Prachand_
हुलाकी न्यूज, काठमाडौं १३ चैत । एमाओवादी अध्यक्ष प्रचण्डको विरोधमा शनिबार पनि बीरगञ्जमा प्रदर्शन जारी रहेको छ । शुक्रबार पक्राउ परेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै विहानैदेखि बजार बन्द गराइएको छ ।

यता शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मधेशी मोर्चाले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

प्रचण्डको विरोधमा प्रदर्शन गर्ने मोर्चाका १७ जना कार्यकर्ताहरुलाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको थियो । त्यसमध्ये अधिकांशलाई गएराती नै रिहा गरिएको छ ।

प्रहरी हिरासतमा राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता राजेशमान सिंहसहित तीन जना रहेको स्थानीय पत्रिका यात्रा डेलीले जनाएको छ ।

तीनजना कार्यकर्तालाई छुटाउन उनीहरुका समर्थकले बिहानैदेखि बीरगन्ज बजारका चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्, भने वीरगञ्ज बजार ठप्प पारेका छन् । वीरगञ्ज महोत्सवको उदघाटन गर्न गएका एमाओवादी अध्यक्ष दाहाललाई मधेश विरोधी संविधान निर्माण गरेको आरोप लगाउँदै मोर्चाले कालो झण्डासहित प्रदर्शन गरेको थियो ।

घण्टाघर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपसमेत भएको थियो । पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीले कानून विपरित काम गर्ने कसैलाई पनि नछोड्ने भन्दै पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र कानून बमोजिम कार्वाही हुने बताएको यात्राले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.