हुलाकी न्यूज, जनकपुर, १२ चैत । नेपाली काँग्रेसका दुइ जना नेतामाथि गोली चलाएको आरोपमा पक्राउ परेका २० वर्षीय कैलाश ठाकुरलाई धनुषा प्रहरीले बिहिबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका पृथ्वीसिंह भनिने कैलाश ठाकुर ‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’ नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पनि रहेको प्रहरीको भनाइ छ ।

ठाकुरलाई गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र काँग्रेसकै नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप लगाइएको छ ।

प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेका थिए ।

ठाकुरका सहयोगी पनि हथियारसहित पक्राउ

त्यस्तै, प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ । सिरहा जिल्ला भेडिया गाविस–३ का ३० वर्षीय विनोदलाई गोली हानी हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ ।

ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.