
हुलाकी न्युज, काठमाण्डौ, १२ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा गरिएको संशोधन “अर्थ न बर्थको” भएको टिप्पणी गरेका छन् ।
‘त्यो संशोधन अर्थ न बर्थको छ । पहिला भूगोल र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ भनिएको थियो, अहिले जनसंख्या र भूगोल भनिएको छ । के अर्थ भो ? कुनै अर्थ छैन’ उनले एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले भनेका छन् ।
पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र अधिकारसम्पन्न प्रदेश आफूहरुको मूख्य माग रहेको उनले बताए ।
प्रदेश सीमांकन गर्न भनि बनाइएको संयन्त्रका सन्दर्भमा उनले प्रश्न गरे ‘क्षेत्राधिकार, वैधानिकता नभएको एकजना मान्छेको संयन्त्र बनाइदिएर हल गर्छ ? संयन्त्र हो कि षड्यन्त्र हो ?’
चैत्र मसान्तसम्म आफूहरुले दिएको अल्टिमेटम सकिन लाग्दा पनि सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेकाले मधेशी र आदिवासी जनजाति मिलेर गर्ने आन्दोलनको तयारीमा व्यस्त रहेको उनले जनाए ।



