स्नेहा झा

लगभग तीस दिनको मधेश आन्दोलमा तीसभन्दा बढीको मृत्यु भइसकेको छ । जसमध्ये प्रदर्शनकारी मात्र बीस जनाभन्दा बढी छन् । यो तथ्यांक मधेशी जिल्लामा मारिएका प्रदर्शनकारीहरुको मात्र हो ।

देशको संविधानमा आफना अधिकार सुनिश्चित गराउन सडकमा उत्रेका जनता यति ठूलो संख्यामा मरिसक्दा पनि श्रद्धाञ्जलीका दुई चार शब्द अर्पण गर्न नसक्ने तिमी कस्तो सरकार ? आफनै देशका जनता, कोही बालक, कोही युवा, कोही वृद्ध, कोही महिला मर्दा पनि दुःख लागेको छसम्म भन्न नसक्ने, तिमी कस्तो सरकार ?

आकाशबाट जल वर्षा हुने मौसममा मधेशको सडक मधेशीको रगतले भिजेको छ । तर, तिमीलाई कुनै वास्ता छैन । के मरिरहेकाहरु तिम्रै देशका नागरिक होइनन् सरकार ? सरकार, तिम्रै प्रहरीले चलाएको गोली लागि फक्रिनै नपाएका कलिला मुनाहरु रगतमा लतपत भए । सारा जीवन यसै देश र माटोको सेवा गरेर चाउरिएका वृद्धलाई पनि तिम्रो प्रहरीको गोलीले छोडेन ।

सरकार, थारु र मधेशीले तिम्रा प्रहरीलाई भाला रोपेको र भाटाले हिर्काएको त देख्यौ, तर तिम्रा प्रहरीले थारु र मधेशी चेलीलाई तिनका घरभित्रै पसी बेइज्जत गरेको, अपमान गरेको अनि नियन्त्रणमा लिएर गोली हिर्काएको देखेनौं । सरकार, वर्षौंसम्म तिम्रै जातका शासकहरुको कमलरी बसी असह्य पीडा भोगेका थारु चेलीको विगत बिर्सियौ ? सरकार, विश्वले पुज्ने जनक नन्दिनी जानकीको नगरीमा तिम्रो प्रहरीले नारीको कति अपमान र मानमर्दन ग¥यो, पत्ता लगायौ ?

अहिलेसम्म मधेश आन्दोलनमा विरगती प्राप्त गरेका मधेशीलाई श्रद्धाञ्जलीसम्म दिन नसकेको र दिन नचाहेको मेरो देशको प्रधानमन्त्री तिमी, मधेशकै माटोमा हुर्केको तिमी, मधेशीकै बिचमा रहेको तिमी, अनि मधेशी भूमिबाटै उठेर देशको प्रधानमन्त्रीसम्म बनेको तिमी, मधेशको माटोको गुण यसरी बिर्सियौ ?

प्रहरीको गोलीबाट एकैदिन ६ जना जनताको मृत्यु हुन्छ । त्यो पनि देशको संविधानमा परिमार्जन र संशोधनको मागका साथ सडकमा रहेका बेला । यस्तो हुँदा पनि तिमीले आन्दोलनरत जनताको नाममा कुनै सन्देश दिनु आवश्यक ठान्दैनौ । मरेका जनताका लागि श्रद्धाञ्जलीका दुई शब्द अर्पण गर्नु तिम्रो जिम्मेवारी महसुस गर्दैनौ । उल्टो उनीहरुलाई होच्याउने र घोच्याउने, उनीहरुको अपमान गर्ने शब्द प्रयोग गर्छौ, के तिमी हामी मधेशीको सरकार होइनौ ? एकफेर भनिदेउ सरकार, तिमी हाम्रो अभिभावक होइनौ ।

सरकार, मधेशीका लागि श्रद्धाञ्जलीका दुई शब्द बोल्नु तिम्रो मानवता होइन, कर्तव्य हो । मधेशीलाई मानव नदेख्ने तिमीले उनीहरुप्रतिको मानवता निर्वाह नगर, तर कर्तव्य त पुरा गर । सरकारी कर्मचारीलाई कर्तव्यको पाठ सिकाएर, डिभी पिआरको बेमौसमी राग अलापेर र मधेशीको आन्दोलनलाई बेतुकको संज्ञा दिएर राष्ट्रिय हिरो बन्न सफल, जातले मधेशी मन्त्री, लालबाबु पण्डित आज किन आफ्नो मन्त्रिमण्डललाई कर्तव्यको पाठ याद दिलाउन सकेनन् ।

हुन त पण्डित हुँदैमा उनले बोल्नुपर्ने आवश्यकता पनि छैन । आखिर मधेशले उनलाई जिताएर पठाएको पनि त होइन । उनी मधेशको र मधेश उनको प्रिय तथा विश्वासिलो नै कहिले भयो र ?

प्रहरीको गोलीले आफनै देशका जनता मर्दा र ठूलो संख्यामा हाताहाति हुँदा पनि तिमी मौन रहनु भनेको दुईटा अवस्थामा मात्र हुन्छ । या त मर्नेहरु अपराधी हुनुपर्छ, या आतंकवादी । सरकार, बन्नलागेको संविधानमा आफना हक अधिकारका लागि संशोधन र परिमार्जनको माग लिएर सडकमा उत्रिनुलाई तिमीले अपराध देखेका छौ ? के नेपालको संविधानले आफनो सरकारसँग लड्ने र अधिकार माग्ने अधिकार नेपाली जनतालाई दिएको छैन ? जहानिँया राणा शाषकदेखि राजतन्त्रको विरोधसम्मको सडक आन्दोलनमा यी मधेशी नेपाली तिमीसँगै उभिएका थिए । जनयुद्धदेखि जनआन्दोलनसम्म तिम्रा सहयात्री बने ।

त्यतिखेर तिमीले आन्दोलनकारीको रुपमा स्वीकारेका यी मधेशी थारुलाई आज मधेश–थरुहट आन्दोलन गर्दा किन आतंककारी देख्यौ सरकार ? या तिमीले मधेशीलाई नेपाली स्वीकार्न चाहेको छैनौ ? कुरा प्रष्ट्याई देउ । अहिले मधेशमा रगत बगाईरहेका मधेशी सपुतहरु तिमीसँग नेपाली हुन पाउने अधिकार माग्दै छन् । सम्मानपूर्वक नेपालभित्र रहने अडान लिई बसेका छन् ।

सरकार, तिनीहरु मधेशी भएर नेपाली हुन सक्दैनन् भने एकफेर मुखले भनिदेउ । तिनीहरुले अहिले नै यो आन्दोलन बन्द गरिदिन्छन् । र मधेशी हुने आन्दोलन सुरु गर्छन् । त्यसपछि परिचालन गर्नु तिम्रा प्रहरी र सेना उनीहरु विरुद्ध । होइन भने, पूर्ण अधिकारसहित, आफनो पहिचानसहित नेपाली हुनका लागि मरिरहेकाहरुको राष्ट्रियताले किन तिमीलाई छुँदैन सरकार ?

सरकार, तिम्रा नेताहरुले मधेशीको लाश खस्दा रुखबाट आँप झरेको भन्छन् । पूर्वदेखि पश्चिमसम्मको यो समथर भूमीका बच्चादेखि वृद्धसम्म मर्न र मार्न तयार भइसक्दा पनि उनीहरुको चिम्से नजरले दुईचार जना उफ्रेको मात्र देख्छन् । सरकार, के यस्तै हुन्छ, देशवासीप्रतिको सहिष्णुता ?

सरकार, वार्ता भनेको के हो ? सडकमा मरिरहेका मधेशी जनताको अपमान गर्दैछौ । अनि तिनका नेतालाई वार्ताका लागि बोलाउँदैछौ ? मधेशीको रगत, भावना र बलिदानीलाई ठट्टामा नउडाउ । सम्मान गर, सडकमा तिमीविरुद्ध नारा लगाइरहेकाहरुको । उनीहरु नेपाली हुन्, त्यसैले तिमीलाई सराप्दै छन्, गाली गर्दै छन् तिमीलाई । तिमीसँग गुनासो गर्दै छन्, अधिकार माग्दै छन् । सरकार, अहिले मरिरहेका मधेशी नेपाली हुन् । यी तिनै नेपाली हुन्, जसले तिम्रो देशको सीमारक्षकको रुपमा काम गरेका छन् । यी तिनै नेपाली हुन्, जसले आफनो मिहिनतको कमाई र उब्जनी तिम्रो खाल्डो राजधानीमा पठाउँछन् ।

यी तिनै नेपाली हुन् सरकार, जसले तिम्रा अधिकांश नेतालाई नेता बनाएका छन् । एकचोटी आफनो इतिहास पल्टाउ, तिम्रो इतिहास यिनीहरुको देन हो । यिनीहरुकै इतिहास र भविष्य मेट्टाउने दुष्प्रयास नगर । मधेशी बालक, युवा, महिला, वृद्धको मृत्युमा रोइदेउ सरकार, अट्टाहसमा नउडाउ ।

6 COMMENTS

  1. Killing innocent ” madhesi” will not make you proud at any cost . remember it will take you down in the future. Its sad moment of not only for “madhesi” its for all nepalese. Still they are controling themself When they will lost their control it be different moment in history of nepal.

  2. तपाईं को लेख मर्म स्पर्शी छ !!! म एक न्याय प्रेमी नेपाली र पहाडी पनि हुँ ! जुन हिसाबले संबिधान आउन लागेको छ त्यो अप्रिय लाग्ने खालको छ ! हिंसाले उग्र रुप लियो भने तेस्ले मधेश मात्रै होइन देश को कहाँ कहाँ आगो लाग्ने हो थाहा छैन ! फेरी मधेश को माग पूरा गर्ने नसकिने खालको पनि छैन ! र पनि तिन दलको हतार बुझिनसक्नु को छ ! ……यसै हो भनेर भन्न त सक्दिन तर प्रचन्ड आतिएको देख्दा मधेशको आन्दोलन भन्दा पनि सार्वभौमिकता गम्भीर संकट र षड्यन्त्रमा परेकै जस्तो छ ! त्यो खतरा भन्दा मधेश को खतरा कम भएको अनुमान गरेरै सबै भैराखेको मेरो बुझाई छ ! संबिधान संसोधन गर्न मिलिहल्छ,, आशा गरौ मधेशको माग तेसरी भएपनि पक्कै समेटिन्छ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.