हुलाकी न्यूज, काठमाडौं ११ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु र भारतीय राजदुतबीच भेटघाट भएको छ ।
विहीबार विहान मोर्चाका नेताहरु र भारतीय राजदुतले सँगै ब्रेकफास्ट गरेर होलीको शुभकामना आदानप्रदान गरेका छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताएअनुसार ब्रेकफाष्टमा समान्य कुराकानी मात्रै भएको र होलीको शुभाकामना आदानप्रदान भएको हो । महतोले यस भेटघाटलाई अन्यथा लिन नहुने बताए ।
भेटघाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का राजकिशोर यादव, तराई–मधेश सद्भावना पार्टीका रामनरेश राय रहेका थिए ।
भारतीय पक्षबाट भारतीय राजदुत रञ्जीत राय सहभागी थिए ।