
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १० चैत्र । प्रत्येक बर्ष झैं यस बर्ष पनि मिथिला नाट्यकला परिषद् जनकपुरले होली पर्वको अवसरमा दुई दिवसिय कार्यक्रम गरेको छ ।
मंगलबार होरी महोत्सव मनाएको छ भने आज महामूर्ख सम्मेलन मनाउँदैछ ।
जानकी मन्दिर परिसरमा मंगलवार आयोजना गरिएको होरी महोत्सवमा धनुषाको कटैया होरैया समूहले प्रथम स्थान हात पारेको छ । त्यस्तै दोस्रो स्थानमा महोत्तरीको हर्दिया र तेस्रो स्थानमा जनकपुरको लादो बेला समूह रहेको छ ।
तीन वटै समूहलाई मेडल र प्रमाण पत्र प्रदान गरि पुरस्कृत गरिएको थियो । डम्फ , झाईल मजिराको ध्वनीमा मैथिली भाषामा होलीका लोक गितहरु गाउने प्रतिस्पर्धामा ६ वटा समूहले भाग लिएको थियो । मिनापका अध्यक्ष मदन ठाकुरको अध्यक्षतामा सम्पन्न भएको उक्त महोत्सवमा मिनापका पदाधिकारी, सदस्य तथा अतिथी कलाकारहरुको साथै मिथिला माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरु र सर्वसाधारणले होरैयालाई साथ दिंदै होलीका गितहरु गुनगुनाएका थिए ।
विगत ४ दशकदेखि गायन क्षेत्रमा सक्रिय रहेका रामशरण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको महोत्सवमा सहभागीहरु एक अर्कालाई अबीर दलेर होली मनाउँदै होलीका गितमा मन्त्रमुग्ध भएका थिए ।



