
बृजराज कुशवाहा, परासी ५ चैत । गत वर्षको उखुको पैसा अहिलेसम्म नदिएको भन्दै किसानहरुले एक चिनी मिलमा तालाबन्दी गरेका छन् ।
ईन्दिरा एग्रो एण्ड सुगर्स इण्डष्ट्रिज गंगापुर, नवलपरासीको कारखानामा किसानहरुले ताला लगाएका छन् ।
कारखानाले गतवर्ष २०७१ को सिजनमा खरिद गरेको उखुको रु. २५ लाखबढी पैसा नदिएको र यस सिजनमा उत्पादन गरेको चिनी बेच्न लागेको थाहा पाएपछि आक्रोसित बनेका किसानले मिलको गेटमा तालाबन्दी गरेको स्थानीय बिहारी गुप्ताले बताए ।
तालाबन्दी गरिएपछि मिलको चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ । किसानको बाँकी बक्यौता रकम दिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समिति समेत सकृयता नदेखाएकाले तालाबन्दी गर्न बाध्य हुनुपरेको किसान अगुवा बिहारी गुप्ता र योगेन्द्र गुप्ताको भनाइ छ ।
गतवर्षको २५ लाखका साथै यसवर्षको २ करोडभन्दा बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन । भुक्तानी दिन आलटाल गर्दै आएको कारखानामा सिजन अफ भएपछि जिम्मेवार व्यक्ति नभेटने समस्याले आजित भएका किसानहरु पटकपटक तालाबन्दी गर्दै आएका छन् ।



