
हुलाकी न्यूज, धनुषाधाम ४ चैत । मधेशको प्रसिद्ध १५ दिने माध्यमिकी परिक्रमा बिहीबार विहान धनुषाधाममा पुगेको छ ।
धनुषाधाममा मेला लाग्नुका साथै नाचगान पनि विहानैदेखि सुरु भएको छ ।
बुधवार धनुषाकै पर्वतामा रहेको परिक्रमा विहीबार धनुषामा पुग्दा स्थानीयहरुले स्वागत गरेका थिए ।
१५ दिने परिक्रमा अन्गतर्गत दशौं दिन परिक्रमा यात्री धनुषाधाम पुग्ने परम्परा छ । धनुषाधाम धनुष मन्दिरको लागि प्रसिद्ध छ ।
मिथिलाको राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वयंवर कार्यक्रममा अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम श्रीरामले धनुषलाई तीन टुक्रा पारेको र त्यसको एक टुक्रा धनुषाधाममा झरेको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।
परिक्रमाको अवसरमा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले धनुषमन्दिरलाई दर्शन गर्ने अवसर प्राप्त गर्नेछन । परिक्रमाका सहभागीहरु धनुषाधाम स्थित धर्मशाला तथा नजिकको वन क्षेत्रमा बास बस्ने गर्दछन । धनुषाधामस्थित धनुषमन्दिरमा परिक्रमा गरी यात्रीले दर्शन पूजा गरेर शुक्रबार धनुषाको सतोषर पुग्नेछ ।




