
अमरेन्द्र कुमार यादव, धनुषा, ३ चैत्र । यस वर्ष मधेशका जिल्लामा आँपको उत्पादन बढ्ने सम्भावना देखिएको छ । मधेशका आँपका बगँैचाहरु लटरम्म फुल्नुले आँप उत्पादन बढ्ने देखिएको हो छ ।
गत वर्षको भन्दा यस वर्ष धनुषाका आँपका बोटहरुमा छिटो र धेरै फुल लागेपछि उत्पादन बढ्ने सम्भावना देखिएको हो । गत वर्षभन्दा यसपाली आँपका बगैँचाहरु फूलले लटरम्म ढाकिएका छन् ।
एक वर्ष राम्रो उत्पादन भएपछि अर्को वर्ष नफल्ने अर्थात् चक्रिय रुपमा फल्ने आँपको यस वर्ष फल्ने वर्ष पनि हो । यसैकारण पनि यस वर्ष गत वर्ष भन्दा आँप उत्पादन दोब्बर हुने संकेत देखिएको हो ।
धनुषामा यस वर्ष ३ हजार ८६ हेक्टर जग्गामा आँपको बोट भएपनि २२ सय ७१ हेक्टर जग्गामा रहेका आँपका बोटमा मात्र आँप फल्ने गरेको कृषि विकास कार्यालय धनुषाले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष ५४ सय ७३ मेट्रिक टन आँप उत्पादन भएको थियो भने यस वर्ष ९ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने अनुमान गरिएको छ ।
अझ किसान चिन्तित

अर्कोतिर, आँप खेति गर्दै आएका किसानहरु भने फूलमा बढ्दो किराको प्रकोपबाट चिन्तित छन् । उनीहरु आँपको उत्पादन बढ्नेमा आशावादी भएपनि किराको प्रकोपबाट चिन्तित पनि छन् ।
आँपमा विशेष गरी मधुवा भन्ने किराको प्रकोप बढी हुने गर्दछ । किरालाई समयमा नियन्त्रण गर्न सकिएन भने उत्पादनमा कमी आउने कृषि विकास कार्यालयका अधिकृत प्रदिप ठाकुर बताउँछन् ।
ठाकुरका अनुसार फूल झर्न नदिन वा रोगबाट बचाउन सेफ ईन्सेक्टीफाई नामक औषधी धेरै नै उपयुक्त हुन्छ र सो औषधी छरेमा किराहरु मर्छन् भने आँपको उत्पादन पनि बढ्छ ।
धनुषामा विशेष गरी बाम्बे , मालदह , दशहरी, कलकतिया , बिज्जु र अम्रपाली लगायतका प्रजातीका आँपको उत्पादन हुने गरेको छ ।



