
हुलाकी न्यूज, काठमाडौं २ चैत । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थारुहरुको मागको बेवास्ता गर्दै सरकारले सीमांकन आयोग गठन गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ९ सदस्यीय सीमांकन आयोग गठन गरेको हो ।
आन्दोलनरत पक्षले प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने माग गरिरहँदा सरकारले अहिलेकै प्रदेशभित्रको सीमांकनलाई व्यवस्थापन गर्न आयोग गठन गरेको हो ।
आन्दोलनरत पक्षले अहिलेको सीमांकनलाई अस्वीकार गर्दै आएको छ ।
गठन भएको आयोगले अहिलेको प्रदेशको गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र तथा स्वायक्त क्षेत्रको सीमांकान निर्धारण गर्नेछ ।
आयोगका सदस्य सुनिल रंजन सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै संविधानको धारा २९५ र ५६ अनुसार आयोग गठन गरेको बताए ।
सिंहले ६ महिनाभित्र गठन गर्नु पर्ने बाध्यताका कारण सरकारले आयोग गठन गरेको बताए । उनले सीमाकंन आयोगले आन्दोलनरत पक्षलाई सहयोग गर्ने दाबी गरे ।
पूर्वसचिव बालानन्द शर्माको अध्यक्षतामा गठन भएको आयोगको सदस्यहरुमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा. माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह र पवित्रा श्रेष्ठ सुब्बा छन् ।



