
हुलाकी न्यूज, राजविराज १ चैत । बालविवाह तथा दाईजो उन्मुलन राष्ट्रिय अभियानले सप्तरीमा सबभन्दा बढी बालविवाह हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
मधेशी पत्रकार संघले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक राजकुमार महतोले बालविवाह सबभन्दा बढी हुने जिल्ला सप्तरी रहेको तथ्यांक सार्वजनिक गरे ।
कार्यक्रममा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या ८३ प्रतिशत रहेको भन्दै सरोकारवालाहरुले यसप्रति चिन्तासमेत व्यक्त गरे ।
स्थानीय पत्रिका न्यूज डुडेको अनलाईन संस्करण अनुसार अभियानका संयोजक महतोले सन २०१५ मा गरिएको अनुसन्धानवाट सप्तरीमा १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या ८३ प्रतिशत रहेको वताए । उनले १५ वर्षभन्दा मुनिका उमेरमा विवाह गर्नेहरुको संख्या २८ प्रतिशत रहेको उनले जानकारी दिए ।

दाईजो प्रथाका कारणले वालविवाहको संख्या पनि वढने गरेको भन्दै संयोजक महतोले यो समस्या तराई मधेशमा मात्रै नभई हिमाल पहाड र राजधानीसम्म विस्तार भएको प्रष्ट पारे ।
अभियानका सदभावना दुत डा.सीके सिंहले वालविवाह गर्नेमा अन्तर्राष्ट्रिय स्तरमा नेपाल १० औं स्थानमा रहेको भन्दै दक्षिण एसियामा वंगलादेश र भारतपछि नेपाल तेश्रो स्थानमा रहेको वताए । उनले वलात्कार जस्ता घटना वाहिर आउने गरेको तर उमेरै नपुगी गरिने विवाहले वालिका वलात्कृत भईरहेपनि यस्ता घटना चाहि चासोको विषय नै नवनेको जिकिर गरे ।
सिंहले सप्तरी लगायत तराई मधेशमा वालविवाह न्यूनिकरणका लागि भारतको विहार, यूपी र झारखण्डमा पनि यो विकृति एकैसाथ नियन्त्रण हुनपर्ने तर्क गरे । नेपाल र भारतका विच कायम रहेको रोटी–बेटीको सम्वन्धसँगै यस्तो विकृति पनि सगसँगै गाँसिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा वालविवाह र दाईजो उन्मुलन अभियानकी सदस्य रुपा झाले दहेजरुपी दानवलाई समाप्त पार्न सवै पक्षले आ–आफ्नो स्थानबाट आवाज उठाउनुपर्नेमा जोड दिए । दाइजो प्रथाकै कारण महिलाहरु प्रताडित हुनुपर्ने बाध्यता रहेको भन्दै यस्ता विकृतिको समूल नष्ट गर्न युवा जमातले अगुवाइ गर्नुपर्ने झाले बताईन् । पत्रकार सम्मेलनको अध्यक्षता संघका अध्यक्ष श्यामसुन्दर यादवले गरेका थिए ।



