आशिष गुप्ता, नेपालगन्ज १ चैत । नेपाल बार एशोसियशनको आसन्न निर्वाचनका लागि वृहत्त लोकतान्त्रिक मधेशी, आदिवासी÷जनजाती तथा पेशागत समावेशी कानुन व्यवसायी समुहले प्रचार–प्रसार अभियान तीव्र पारेको छ ।
निर्वाचन प्रचार अभियानका क्रममा उक्त समुहका उम्मेदवारहरु आइतबार राती नेपालगन्ज आइपुगेका छन् । आगामी चैत २० गते हुन लागेको बार एशोसियशनको निर्वाचनमा वृहत लोकतान्त्रिक मधेशी, आदिवासी÷जनजाती तथा पेशागत समावेशी कानुन व्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा शेरबहादुर केसी, उपाध्यक्षमा मध्यपश्चिमबाट रेवतीरमण भट्टराई, मदनकुमार खड्का(पुर्वाञ्चल), विनय सिंह(मध्यमाञ्चल), मोतिराज गौतम(उपत्यका), घनश्याम पन्त(पश्चिमाञ्चल) र गंगाराम पाध्याय(सुदुरपश्चिम) तथा शान्ता सेढाई सापकोटा(खुला क्षेत्र–महिला) रहेका छन् ।
यस्तै महासचिवमा खम्मबहादुर खाती, कोषाध्यक्षमा ज्ञानरत्न शाक्य उम्मेदवार रहेका छन् । उम्मेदवारलाई शुभकामना दिदै वरिष्ठ अधिवक्ता भोलासिंह हमाल । यसैगरी सदस्यहरुमा श्यामकुमार विश्वकर्मा(दलित), अनिलकुमार साह(मधेसी÷मुस्लिम–उपत्यका बाहिर), रमणकुमार कर्ण (मधेसी÷मुस्लिम–खुला), अस्मिनकुमार राई(आदिवासी÷जनजाती– खुला ), हरिनारायण चौधरी(आदिवासी÷जनजाती–उपत्यका बाहिर), इन्दु कोईराला(महिला–उपत्यका बाहिर), सानुमैया महर्जन(महिला–खुला), पदमबहादुर शाही(खुला–उपत्यका बाहिर) रहेका छन् । यस्तै खुला सदस्यहरुमा ज्ञानेन्द्र अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले, इन्द्रबहादुर अधिकारी र खड्गबहादुर बुढाथोकी(सुवास) चुनावी मैदानमा छन् । टोली पुर्वको इलाम, तनहुँ, कपिलबस्तु, महेन्द्रनगर हुदै टोली आइतबार बेलुका नेपालगन्ज आइपुगेको हो ।
उम्मेदवार टोलीलाई बाँकेका कानुन व्यवसायीले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । स्वागत कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले आफु नेतृत्वको टिम बार एशोसियशनमा निर्वा्चित भएपछि समग्र कानुन व्यवसायीको हक अधिकार, संस्थागत विकास लगायत काममा निरन्तर रुपले सक्रिय हुने प्रतिवद्धता जनाए । ‘हाम्रो टिम निर्वा्चित भएपछि तीन वर्ष सम्म बार एशोसियशनभित्रै रहेर कानुन व्यवसायीका हक÷हितका सवालमा काम गर्नेछौैं,’ केसीले भने ‘हामीले कुनैपनि सरकारी पद लिनेछैनौं, हामीलाई पदको लोभ लालच हुनेछैन ।’ वर्तमान समयमा बार एशोसियशनको अवस्थाले सिंगो कानुन व्यवसायीलाई दुःखी बनाएको उनले बताए ।
‘बारका निर्वतमान अध्यक्षको भूमिका तीन वटा फरक काममा देखियो,’ अधिवक्ता केसीले थपे ‘बारको नेतृत्व लिएका व्यक्तिको कार्यशैलीले बार एशोसियशनको गरिमा जोगाउन सकेको छैन ।’ नेपालगन्जलाई प्रान्तिय राजधानी बनाउन र उच्च अदालत स्थापना गर्न आफ्नो नेतृत्वले विशेष भूमिका खेल्ने केसीले बताए । ‘प्रान्तिय राजधानी नेपालगन्जलाई बनाइसकेपछि उच्च अदालत पनि यो ठाउँ बाहेक अन्यत्र जादैन,’ उनले भने । विभिन्न जिल्लामा पुग्दा कानुन व्यवसायीको समर्थन र हौसला पाएर आफुहरु निकै उत्साहित बनेको केसीको भनाई छ ।
आफ्नो पहिचान स्थापित गरिसकेको बार एशोसियशनको वर्तमान नेतृत्व असक्षम हुदाँ स्वतन्त्र न्यायपालिका धरापमा परेको उनले गुनासो पोखे । ‘अहिले स्वतन्त्र न्यायपालिकामै प्रश्न उठिसक्यो, लोकतन्त्रवादी कानुन व्यवसायीको बार एशोसियशनमा उपस्थिती गराउन सकियो भने स्वतन्त्र न्यायपालिकामा यस्तो प्रश्न आउँदैन,’ केसीले सुनाए । सो अवसरमा बोल्दै डिएलएका केन्द्रिय उपाध्यक्ष एवम् मध्यपश्चिम क्षेत्रीय संयोजक प्रह्लादबहादुर कार्कीले नयाँ संविधान निर्माण भइसकेको अवस्थामा कार्यान्वयन गर्न धेरै चुनौती रहेको बताए । ‘बार एशोसियशनमा लोकतन्त्रिक शक्ति आयो भने संविधान कार्यान्वयनमा लैजान सहज हुनेछ,’ कार्कीले भने । बारको वर्तमान नेतृत्व कानुन व्यवसायीको हकहित संरक्षण गर्नमा सुतिरहेको उनले आरोप लगाए । बार एशोसियशनको नेतृत्व बलियो नभएकै कारण स्वतन्त्र न्यायपालिकामाथि पछिल्लो समयमा हस्तक्षेप भइरहेको उपाध्यक्ष कार्कीको भनाई छ । संविधान कार्यान्वयन गर्दा उत्पन्न हुने चुनौती पार गर्न आसन्न बारको निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई ल्याउन आवश्यक रहेको उनले प्रष्ट्याए । निर्वाचनको पुर्व सन्ध्यामा जिल्ला दौडाहामा निस्केका उम्मेदवारलाई शुभकामना दिदै वरिष्ठ अधिवक्ता भोलासिंह हमालले लोकतन्त्रवादी कानुन व्यवसायी समुहको विजयी सुनिश्चित रहेको बताए ।
‘हाम्रो विजयी सुनिश्चित भइसकेको छ,’ उनले भने ‘कानुन व्यवसायीको हक÷हितका साथै बार एशोसियशनको संस्थागत विकासका लागि वृहत लोकतन्त्रवादी कानुन व्यवसायी समुहलाई निर्वाचन गराउन सबै काुनन व्यवसायीलाई अनुरोध गर्दछु ।’उम्मेदवारहरुलाई स्वागत गर्दै डिएलए बाँकेका कोषाध्यक्ष विश्वजित तिवारीले यस पटक डिएलए नेतृत्वको प्यानल बारमा निर्वा्चित हुने आधार प्रसस्त रहेको बताए । ‘बामपन्थी कानुन व्यवसायीले गरे जस्तो महान्यायधिवक्ता र न्यायाधिस बन्ने लोभ लालच लोकतन्त्रवादी कानुन व्यवसायीमा रहने छैन,’ उनले भने । वृहत लोकतान्त्रिक टोली चुनाव प्रचारका लागि सोमबार नै बर्दियाका कानुन व्यवसायीलाई भेटघाट गरेर दाङ पुग्ने कार्यक्रम छ ।



