
हुलाकी न्यूज, धनुषा, ३० फागुन । धनुषाका द्वन्द्वपीडितहरुले जिल्ला शिक्षा कार्यालयको कर्मचारीका भेदभाव र लापरबाहीका कारण आफूहरुले अहिलेसम्म छात्रवृत्ति नपाएको गुनासो गरेका छन् ।
द्वन्द्वमा घरमुलीले ज्यान गुमाएको एकदशक भन्दा बढी समय भएपनि आफ्ना छोराछोरीले छात्रवृत्ति नपाएको अभिभावकको गुनसो छ ।
द्वन्दमा पति गुमाएका चोराकोयलपुर घर भएकी समुन्द्रीदेवी यादवले भनिन् , “जिल्ला शान्ति समिति, शिक्षा कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा पटक÷पटक धाए पनि अहिलेसम्म छात्रवृत्ति पाएका छैनौँ ।”
सरकारले प्रत्येक द्वन्द्वपीडित परिवारका तीनजना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । सरकारी घोषणाअनुसार धनुषाका द्वन्द्वपीडित बालबालिकाले छात्रवृति नपाएकोप्रति सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले चिन्ता व्यक्त गरिन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीसँग कुराकानी गरेको र छात्रवृतिका लागि शिक्षा विभागका पदाधिकारीसँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाइने झाले बताइन् ।
जिल्ला शान्ति समिति धनुषाले छात्रवृत्तिको लागि जिल्ला शिक्षा कार्यालयमा पाँच वर्षअघि १०५ जना द्वन्द्वपीडित बालबालिकाको नाम सिफारिस गरेको थियो । सोमध्ये अहिलेसम्म २१ जनाले मात्र सरकारी सुविधा पाएको शान्ति समिति संयोजक कोमलकान्त झाले जानकारी दिए ।
(File Photo)



