आदरणीय उपेन्द्र यादव ज्यू, महन्थ ठाकुर ज्यू, राजेन्द्र महतो ज्यू,
“के नेपाली पहिचान हाम्रो देशको राष्ट्रिय पहिचानको रूपमा उचित हो ?“
हाम्रो देशको नेपाली पहिचान राष्ट्रियताको साटो एउटा जातियतालाई बोध गर्दछ, वा अर्को शब्दमा भन्नुपर्दा “नेपाली“ पहिचान “पहाड़ी“ पहिचानको पर्यायवाची शब्द भएको आभाष हुन जान्छ । यस कुरालाई गहिराईले मनन गर्ने हो भने हामी मधेशीहरूको पहिचानसंग सम्बन्धित सम्पूर्ण समस्याहरूको मूल यही नै रहेको थाहा हुन्छ । उदाहरणको लागि केही कुराहरूमाथि ध्यान दिइयोस् कि कसरी हामी मधेशीहरूमाथि एउटा जातीय पहिचान थोपरेर हामीलाई सुरूदेखि नै भ्रमित गरियो जसले गर्दा हामी विदेशी जस्तै भई राखौं वा दोस्रो दर्जाको नागरिक समान हाम्रो हैसियत कायम रहोस् ।
१) हाम्रा बुढ़ा–पाका तथा केही पुरानो व्यक्तिहरूले आज पनि पहाड़ीहरूलाई नेपाली भनेर बोलाऊँछन्, यदाकदा हामी युवावर्ग पनि यस्तो गरिराख्छौं । जस्तो कि, हमर घर के बगल में एगो नेपाली के घर बा ।
२) पहाड़ी मूलकाहरूले पनि कुरै–कुरामा यस्तो केही भनि हाल्छन् जसले “नेपाली“ तिनिहरूको सामुदायिक र सम्प्रदायिक र जातिगत पहचानको रूपमा प्रतिबिम्बित हुन्छ । जस्तो कि, होइन नेपालीहरूकोमा छठ हुदैन, तिमी मधेशीहरूकोमा मात्रै हो के छठ हुने ।
३) हाम्रो मधेशका कैयौं यस्ता टोलहरू छन् जसलाई बकाइदा “नेपाली“ टोल भनिन्छ, निसन्देह पहाड़ीहरूको ऐतिहासिक बसोबासलाई लिएर नै यस्तो नामांकन गरिएको हुनुपर्छ, किनभने यस्तो कुनै मधेशीहरूको गल्ली अथवा टोल छैन जसलाई “नेपाली“ टोल भनेर सम्बोधित गरिएको होस् । भारतमा समेत कतिपय यस्ता “नेपाली टोल“ हरू छन् जो पूर्णरूपमा हाम्रो देशका पहाड़ी अथवा तिनका स्वजातिय मानिसहरूको ऐतिहासिक बसोबासलाई लिएर नामकरण गरिएका हुन् ।
४) दिनैपिच्छे हाम्रो देशका राष्ट्रियस्तरका पत्र–पत्रिकाहरूमा भारतका केही विशेष समुदायलाई नेपाली र नेपाली मूल र नेपाली भाषी भनेर सम्बोधित गरिएको हुन्छ । ती मानिसहरू सबै हाम्रो देशको पहाड़ी मानिसहरूको स्वजातिय समुदायका नै हन्छन्, कहिल्यै पनि बिहार र युपीका मधेशीहरूको स्वजातिय समुदायलाई नेपाली र नेपाली मूल भनेर सम्बोधित गरिएको हुदैन । “नेपाली भाषी“ पनि भनिदैन चाहे हाम्रा स्वजातियहरू जतिसुकै नेपाली भाषाको माहिर नै किन न होस् ।
अब उपरोक्त तथ्यहरूले गर्दा यो प्रश्न उठ्न आउँछ कि यदि यस्तो हो भने के हामीहरू अहिले पनि यहि साबित गर्दै राखौं कि हामी मधेशी पनि नेपाली हौं ?
के हामी दुनियाभरी पर्चा र पैम्फ्लेट लगाई लगाई, पहाड़ीहरूको आनी–बानी र पहिरनमा ढलेर घाटी सुक्ने गरि चिच्याउँदै गरौ कि “हामी पनि नेपाली हौं “ ? शरणार्थीहरूले हो आफूलाई शरण दिने राष्ट्रको पहिचान अंगाल्नुपर्ने , के हामी मधेशीहरूलाई नेपालीहरूले शरण दिएको हो ? कि मधेशीहरूलाई नेपालीहरूको पहिचान अंगाल्नुपर्ने ? के हामी मधेशीहरू मधेश भूमिका आदिवासी होइनौं ? यदि हौं भने हामीले राष्ट्रियताको विकल्प खोज्ने बेला आएको होइन र ?
विकल्प के हुनसक्दछ ? के यस समस्याको निदान हाम्रो देशको पुनर्नामकरणले होला ? यदि हो भने, के यसलाई संयुक्त लोकतांत्रिक मधेशी मोर्चाले संविधानमा सहमति जनाउनको लागि अघि सारेका अथवा सार्न लागेका प्रमुख मागहरूमा सम्मिलित किन न गरियोस् ?
भरत साह
बीरगञ्ज




Hami sang kasaile name sodhda nam bhanchau tys pachi jat sodhda jat bhanchau tys pachi kun sodh cha ani hami le madhesi bhanchau, ke yo hamro pahichan hoin?