
हुलाकी न्यूज, काठमाण्डौ, ३० फागुन । एकीकृत नेकपा माओवादीका तर्फबाट सांसद रहेका ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।
छानबिनकै क्रममा आइतबार दरबारमार्ग स्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताएका छन् ।
बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको भएपनि बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला परेको पुस्करले बताए ।
गोली फेला परेलगत्तै अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ ।
लामालाई हातहतियार खरखजना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।



