aneraswaviyu
हुलाकी न्यूज, काठमाण्डौ, ३० फागुन । प्रमुख सत्तारुढ दल नेकपा एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुले विराट ओयल कम्पनिसँग भएको इन्धन आयातको सम्झौता गलत रहेको भन्दै खारेज गर्न माग गरेको छ ।

सम्झौता गलत रहेको र तुरुन्त खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियूले आइतबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
वर्तमान सरकारले विराट पेट्रोलियमलाई प्रचलित बजार मूल्यभन्दा बढिमा इन्धन बेच्न दिएर संस्थागत भ्रष्टाचार गरेको भन्दै अनेरास्ववियूले बबरमहलस्थित ओयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूकी नवनिर्वाचित अध्यक्ष नविना लामाले भ्रष्टाचार र कालोबजारीलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

बिहान ९ बजेदेखि सुरु भएको घेराउ दुई घण्टासम्म जारी रहँदा विद्यार्थीहरुले निगमको मूल गेटबाट कर्मचारीहरुलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।

इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन, संस्थागत भ्रष्टाचार रोक्न र कालोबजारी अन्त्य गर्न माग गर्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिइन् ।

वर्तमान सरकारको साझेदार एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले पनि भ्रष्टाचार र कालोबजारी रोक्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.