
हुलाकी न्यूज, रौतहट, ३० फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसका मागहरुलाई चैत मसान्तभित्र सम्बोधन नगरिए बैशाखदेखि पुनः आन्दोलन गर्ने बताएका छन् ।
शनिबार गौरमा आयोजित पत्रकार सम्मेलनमा महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोर्चाले शुक्रबार बुझाएको पत्रलाई सम्बोधन गर्ने मौका नगुमाउन अनुरोध पनि गरेका छन् । सरकारसँग अझै एक महिना समय रहेको भन्दै उनले चैत महिनाभित्र आफूहरुले उठाएका ११ बुँदे मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।
आफूहरु शक्ति संचय र पार्टीका संगठनलाई सुदृढ बनाउन लागेको भन्दै उनले आन्दोलन कमजोर भएको, औचित्य सकिएको वा तुहिएको भन्ने सोच्न पनि नहुने बताए ।
लामो समयदेखि चलेको मधेस आन्दोलनबाट सरकारलाई नभई जनताहरुले मात्रै दुःख पाएकाले मधेसी मोर्चाले केही समयका लागि मात्र आन्दोलनको स्वरुप परिवर्तन गरेको उनले स्पष्ट पारे ।
उनले मधेसको मागलाई सम्बोधन नभए वैशाखदेखि निर्णायक र कठोर आन्दोलन हुने दाबी गरे । तर, नाकाबन्दी गर्ने वा नगर्ने बारेमा व्यापक छलफल गर्नु पर्ने उनको जोड थियो ।



