
हुलाकी न्यूज, २९ फागुन, कपिलवस्तु । कपिलबस्तुको छुट्टाछुट्टै ३ स्थानमा शुक्रबार भएको आगलागीबाट एक दर्जन घरगोठ जलेर नष्ट भएका छन् । शुक्रबार साँझ जिल्लाको बलरामपुर गाबिस वडा नं. १ मा आगलागी हुँदा ९ वटा घर र ४ वटा गोठमा क्षती पुगेको छ ।
बलरामपुरका सिताराम गेडिया, बर्शाती गेडिया, रामसुन्दर यादव, बुद्धराम यादव, रामसमुज यादव, पाटनधारी ढाडी र शंकर यादवको घरगोठमा आगलागी हुँदा २० लाख भन्दा बढिको क्षति भएको प्रहरीले जनाएको छ । उक्त ठाउँमा लागेको आगो गएराती करिब ८ बजे नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
यस्तै बसन्तपुर ९ बहडिलवास्थित परशुराम यादवको घरगोठमा आगलागी हुँदा १ लाख ६० हजार क्षति भएको प्रहरीले जनाएको छ । सो ठाउँमा भएको शुक्रबार भएको आगलागी दिउँसो ४ बजे कपिलबस्तु नगरपालिका तौलिहवाबाट गएको दमकल , प्रहरी तथा स्थानीयको प्रयासबाट नियन्त्रण लिइएकोे छ ।
त्यस्तै बुद्धबाटिका नगरपालिका ५ स्थित त्रिशुली सामुदायिक वनमा लागेको आगलागीलाई नियन्त्रणमा लिइसकिएको प्रहरिले बताएको छ ।
कपिलवस्तुमा गर्मी मौसम लागेसँगै आगलागीका घटना बढ्न थालेपछि विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्न थालिएका छन् । यसअघि पनि पथरदइयामा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएको थियो ।
(File Photo)



