Jaleswar
हुलाकी न्यूज, जलेश्वर २७ फागुन । मधेश आन्दोलन क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव समेत २८ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनी सम्बन्धी मुद्दामा २५ जना विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको हो । गत भदौ २५ गते महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको आक्रमणले घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लगिने क्रममा जिल्लाको महोत्तरी गाउँ नजिक हत्या गरिएको थियो । जलेश्वरबाट जनकपुर ल्याउँदै गर्दा बाटोमै विक चढेको एम्बुलेन्समा आगजनी गरी उनलाई कुटीकुटी हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोग लगाउँदै प्रहरीले सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री यादव, सोही पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतो, तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य कौशलकुमार यादव, तमलोपा केन्द्रिय शंकरकुमार मिश्र, तराइ मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डे, जिल्ला सदस्य मोहन ठाकुर, स्थानीय व्यवसायी प्रदीपकुमार साह र प्रमोद गामी लगायत विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

ती मध्ये व्यवसायद्वय प्रदीप र प्रमोद तथा तमलोपा जिल्ला सदस्य ठाकुरलाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ । अन्य अभियुक्त तथा मुद्दामा आफ्नो पनि नाम समेटिने भयले मधेशवादी दलहरुका अन्य जिल्ला नेताहरु पहिलेदेखि नै फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.