
हुलाकी न्यूज, नयाँ दिल्ली २६ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको विश्व सांस्कृतिक महोत्सवमा मधेशी नेताहरु पनि सहभागी हुने भएका छन् ।
आयोजकले दिएको जानकारीअनुसार मधेशवादी दलका संसद तथा केही नेताहरु उक्त कार्यक्रममा सहभागी हुनेछन् ।
फागुन २८, २९, ३० गते हुने महोत्सवमा ‘द आर्ट अफ लिभिङग’को ३५ वार्षिक उत्सव अवसरमा आयोजना हुन लागेको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा विश्वको सबैभन्दा ठूलो संगीत र नृत्यको महाउत्सवको पनि आयोजना गरिने छ जसमा १५५ देशबाट ३५००० भन्दा बढी कलाकारको सहभागिता रहनेछ ।
१४० बढी नेपाली कलाकारको पनि सहभागिता रहने आयोजकको दाबी छ । उक्त कार्यक्रममा नेपालको परराष्ट्र मन्त्री कमल थापा पनि सहभागी हुने छन् ।
३५ लाखभन्दा बढिको सहभागिता एकै स्थानमा हुन गईरहेको कार्यक्रमको लागी विश्वको सबभन्दा ठूलो मन्च बनाईएको छ । कार्यक्रम ६ फुटबल ग्राउण्ड बराबरको हुने जानकारी पनि आयोजकले दिएको छ ।
कार्यक्रममा मधेशी नेताहरुको साथै सदभावना पार्टीका संसद विमल केडिया, नेपाली काँग्रेसका संसद अमरेश कुमार सिंह र शेखर कोइराला जाने बताइएको छ ।



