
हुलाकी न्युज, जनकपुर, २५ फागुन । मिथिलाञ्चलमा हुने ऐतिहासिक प्राचीन तथा धार्मिक महत्वको १५ दिने मध्यमिथिला परिक्रमा आजदेखि शुरु हुने भएको छ ।
ऐतिहासिकस् थल कचुरी मठबाट भगवान् श्रीराम र जनक जननी सीताको डोलासहित निस्कने मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक तथा ऐतिहासिक यात्रा मानिने यो परिक्रमाको अवधि १५ दिनको हुन्छ ।
नेपाली भू–भागको ९० तथा छिमेकी भारतीय भू–भागको ३० गरी जम्मा १२० किलोमिटर भूभागको परिक्रमा श्रद्धालु भक्तजनले गर्ने परम्परा रही आएको छ । धार्मिक आस्थाले भरिएको यति लामो पैदल परिक्रमा विश्वको सबैभन्दा ठूलो परिक्रमा भएको भक्तहरु बताउँछन् ।
फागुने औँसीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवम धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठहुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरको अन्य मठमन्दिरबाट ल्याइएका डोलासहित समावेश गरी १५ दिने परिक्रमा यात्राको शुभारम्भ गरिन्छ । डोलाको पछिपछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा लाखौँ तिर्थालु सहभागी हुने गर्दछन् ।
पछिल्ला वर्षहरुमाझैँ यसपाली पनि फागुन चतुर्थीदेखि फागु पूर्णिमासम्म जनकपुर परिक्रमास्थल क्षेत्र र भारत बिहारको पुरै क्षेत्र मध्यमिथिला परिक्रमाको कारण उत्सवमय र उल्लासमय बनेका छन् ।
यो परिक्रमाले धनुषा, महोत्तरी र भारतको उत्तरी बिहारका दर्जनौँ धार्मिक तथा ऐतिहासिकस्थल समेट्ने गर्छ । बृहद् विष्णु पुराणमा वर्णन गरिएअनुसार यो परिक्रमा नै एउटा यस्तो परिक्रमा हो जसमा भगवान श्रीराम र सीताको प्रत्यक्ष दर्शनको अनुभूति हुने गर्दछ ।
बीसौँ शताब्दीको आरम्भतिर जनकपुरधाममा रामानन्दीय वैष्णव साधुले पाँच दिनमा पूरा हुने परिक्रमालाई १५ दिने परिक्रमा बनाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
पन्ध्रदिने मिथिला मध्यपरिक्रमाअन्तर्गत पहिलो दिन कुवा हनुमान नगर, दोस्रो दिन विहारको कल्नास्थित कल्याणेश्वर, तेस्रो दिन विहारकै फुलहरस्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मठिहानी, पाँचौ दिन जलेश्वर, छैठौँ दिन मढै, सातौँ दिन धु्रवकुण्ड, आठौँ दिन कञ्चन वन, नवौँ दिन पर्वता, दसौँ दिन धनुषाधाम, ११औँ दिन सतोषखर, १२औँ दिन औरही, १३औँ दिन भारत विहारको कल्ना, १४ औँ दिन भारत विहारकै विसौल र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिन जनकपुरधाममा आएर अन्तरगृह परिक्रमामा परिणत हुन्छ र परिक्रमा पश्चात सहभागी तीर्थालु होली खेली १५ दिनेमध्य परिक्रमा अन्त्य हुन्छ ।
परिक्रमा विश्रामस्थल धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको तथा राम सीताको जीवन पद्धतिसँग जोडिएकाले यी विश्रामस्थल वा धार्मिक स्थलमा विभिन्न देवी देवताको प्राचीन मठ मन्दिर रहेका छन् ।
यो ऐतिहासिक परिक्रमाको अर्को विशेषता भनेको सहभागी तीर्थालुले आफैँले खाने कुरा बोकी परिक्रमामा सहभागी हुने गरेका छन् । परिक्रमा विश्रामस्थलमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले तीर्थालुका लागि बास, खानेपानी, औषधोपचार, शौचालय आदिको वैकल्पिक व्यवस्थासमेत गर्ने गरेका छन् ।
परिक्रमा सडकको मर्मत सम्भार
विसं २०४९ नेपाल–भारतबीच भएको द्विपक्षीय सम्झौताअनुसार अहिले परिक्रमा मार्गको मर्मत सम्भार द्रुत गतिमा भइरहेको छ । भारतको इकजिव बैंकको ऋण सहयोगमा भारत सरकारले रु एक अर्ब ५० करोड २९ लाख २८ हजार ७२८ को लागतमा मध्यपरिक्रमा सडकको निर्माण तथा मर्मत सम्भार सुरु गरेको हो ।
नेपाल र भारतका पाँचवटा ठेकेदारले संयुक्तरुपमा काम सुरु गरिएको परिक्रमा सडकको सम्पूर्ण काम सन् २०१८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जनकपुर परिक्रमा सडक योजना बर्दिवासका योजना प्रमुख राजेश दासले बताए ।



