
हुलाकी न्यूज, राजविराज, २४ फागुन । जंगली हात्तीको एक समुहले बकधुवा—९ का ७५ वर्षिय ललित बहादुर पोख्रेलको घर भत्काई घरमा भएको अन्नपात, लत्ता कपडा तथा भाँडाकुँडा समेत नष्ट गरेको छ ।
पोखरेल दम्पति घरभित्र सुतिरहेको अवस्थामा आइतबार राती करिब एक बजे एक्कासी हात्तीले आक्रमण गरी घर भत्काएको थाहा पाएपछि आफुुहरु भागेर ज्यान बचाएको ललितकी पत्नी ७४ वर्षिय टिकामाया पोखरेले जानकारी दिइन् । घटनामा कुनै मानविय क्षति नभए पनि करिव दुई लाख बरावरको धनमाल क्षति भएको ईलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
सप्तरीमा बढ्दो हात्ती आतङ्क अझै रोकिएको छैन । सप्तरीको पूर्व उत्तर तर्फका गाउँबस्तीहरुमा प्रत्येक दिन हात्ती आतङ्कले जनजीवन प्रभावित भएको छ । हात्ती आए लगतै प्रहरीलाई खबर गरेपनि कुनै वास्ता नगरिने स्थानियको भनाइ छ ।
सप्तरीको उत्तरतर्फको चुरे वनसँग जोडिएका गाविस तथा नगर क्षेत्रहरुमा दिनहुँ जंगली हात्तीहरुको समुहले आक्रमण गरी किसानहरुको अन्नबाली नष्ट गर्नुको साथै घर टहरा भत्काइदिँदा लाखौँको क्षति भइरहेको छ । हात्तीको आक्रमणले हालसम्म सप्तरीमा दर्जनौंले ज्यान गुमाई सकेका छन् ।
हात्तीले खासगरी राति आक्रमण गर्ने हँदा प्रभावित क्षेत्रका बासिन्दाहरु रातभरी सुत्न नपाएको बताउँछन् । दिनभरी नजिकैको जङ्गलमा बस्ने र रात परेपछि मानव बस्तीमा प्रवेश गर्ने गरेकोले स्थानियको जनजीवन थप आतङ्कित भएको हो ।
हात्तीहरुको समुह दिनभरी जङ्गलमा वस्ने गरेकोले वनपात गर्नेहरुलाई समेत वन जान डर हुँदा दैनिक घाँस–दाउरा गरेर छाक टार्नेहरुकालागि जीवन धान्न गाह्रो परेको स्थानियहरु बताउँछन् । त्यसैगरी जङ्गलबाट घाँस ल्याएर गाई, भैंसी, बाख्रा पाल्ने कृषकहरुले समेत हात्तीको डरले वनमा घाँस काट्न जान छोडेको पशुपालक कृषकहरुको गुनासो छ ।
दिनप्रतिदिन बढ्दै गइरहेको हात्तीलगायत जंगली जनावरको आतङ्क नियन्त्रणका लागि सम्बन्धित निकायहरु सक्रिय हुनुको साटो पूर्ण रुपमा बेखबर भइ बसिरहेको जनगुनासो बढिरहेको हुँदा सम्बन्धित पक्षले यसतर्फ शीघ्र ध्यान दिनुपर्ने बुद्धिजिवीहरुको भनाइ छ ।
(File Photo)



