
हुलाकी न्यूज, जलेश्वर, २४ माघ । महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा आज बिहानैदेखि शिवरात्रीको अवसरमा शिवलिङ्गको दर्शन गर्न हजारौँ श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । मन्दिर वरपर मेला पनि लागेको छ ।
शिवरात्रीमा दिनभरि नै जलगुफाबाट जल निकाली हजाराँै दर्शनार्थीलाई शिवलिङ्ग दर्शन गराईने हुँदा महिला र पुरुष दर्शनार्थीहरु बिहानैदेखि दर्शनको लागि लाईनमा बसेका छन् ।
शिवरात्रीमा जलेश्वरनाथ महादेवलाई भाण्टाको भार, धानको बाला चढाउनुका साथै दण्डयात्रा समेत गरिने गरिएको छ । मागेको मनोकांक्षा पुरा भएमा भाकल मानेकाहरुले आफ्नो घरबाट दण्डवत् गर्दै मन्दिरसम्म पुग्ने गर्छन् ।
महाशिवरात्री महोत्सवको लागि विशेष तयारी स्वरुप शान्ति कम्युनिटी हस्पीटल, जिल्ला स्वास्थ्य कार्यालय तथा रेडक्रसले विशेष स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ भने सामुदायिक प्रहरीले विशेष सहायता क्याम्प राखेको छ ।
त्यस्तै मन्दिर क्षेत्र वरिपरिको ट्राफिक रुट परिवर्तन गरिएको छ । साथै ३०० को संख्यामा स्वयम् सेवक समेत परिचालित रहेका छन् । मन्दिर परिसर र बाहिर समेत व्यापक सुरक्षाकर्मीहरु चुस्तामा र सादा पोसाकमा समेत तैनाथ रहेका छन् ।







